धरान : तत्कालीन मालपोत र नापी कार्यालय धरानका हाकिमहरूले भू-माफिया सँग एक एक कट्ठा जमिन लाभ (घुस) लिई हाल धरान-१६ मा रहेको कार्यालय धरान-६ पानवारीमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाउने दोषी उपर छानबिन गर्न माग गर्दै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान मञ्च सुनसरीले आज आइतबार दुवै कार्यालयका वर्तमान प्रमुखहरू मार्फत गृहमन्त्री, भूमि व्यवस्था मन्त्री, प्रदेश प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । 
प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी, जिल्ला नापी कार्यालय, धरान नगर प्रमुख, वडाध्यक्षहरू र अधिकारमुखी सङ्घ सङ्गठनहरूलाई बोधार्थ दिइएको ज्ञापन पत्रमा यसअघि २०७९ साउन २० गते पहिलो पटक ज्ञापन पत्र बुझाएको स्मरण गराइएको छ ।
मालपोत र नापी कार्यालय स्थानान्तरण नगरी  यथास्थानमै राख्न माग गर्दै बुझाइएको ज्ञापन पत्रमा लाभ लिएर कार्यालय सार्ने दोषी हाकिमहरू उपर छानबिन गरी कारबाही गर्न माग गरिएको पनि स्मरण गराइएको पनि उल्लेख छ । 
ज्ञापनपत्रमा भनिएको छ, ‘कार्यालय यथास्थानमै राख्ने विषयमा राजनीतिक दलहरू, नागरिक समाज, सरोकारवाला निकायहरू र सङ्घ संस्थाहरूका बिच पटक पटक बहस र छलफल भएको थियो । तर, मालपोत कार्यालयका तत्कालीन प्रमुख भीम प्रसाद गौतम तथा नापी कार्यालयका तत्कालीन प्रमुख कृष्णप्रसाद न्यौपानेले एक एक कट्ठा जमिन लाभ लिएर भूमाफियाहरुको चङ्गुलमा परी मनोमानी ढङ्गमा कार्यालय पानबारीमा सार्ने निर्णयलाई अघि बढाउने कार्य गर्यो ।’ 
मालपोत र नापी कार्यालय साबिक ठाउँबाट सार्न नहुने कुराका बारेमा क्षेत्र नं.१ का सरोकारवाला जनतासँग छलफल गरी पार्टीले पुनः गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरिएको सङ्घीय लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले बताए । इजम सहित ज्ञापन पत्रमा पार्टीका धरान नगर कार्यवाहक अध्यक्ष मोहन तिगेलार सुनसरी जिल्ला सचिव निर्मल राईले हस्ताक्षर गरेका छन् ।
दैनिक करोडौँ रुपया नगदको कारोबार हुने अति संवेदनशील कार्यालय असुरक्षित र क्षेत्र नं. १ का जनतालाई पायक नपर्ने ठाउँमा निर्णय अपरिपक्व र अवैज्ञानिक भएको पार्टी को ठम्याई रहेको विज्ञप्तिमा उल्लेख छ । हाल सञ्चालनमा रहेको ठाउँ नेपाल सरकारकै अर्ध स्वामित्वमा रहेको कृषि विकास बैङ्कको भवन भएकाले भूमिसुधार मन्त्रालयलाई स्वामित्व हस्तान्तरण गर्ने प्रक्रिया अपनाएर सोही ठाउँमा स्थायी मालपोत र नापी कार्यालय राख्न सकिने ज्ञापन पत्रमा उल्लेख छ ।
Malpot-PR-1
Malpot-PR-2