धरान : किरात समुदायहरूको नयाँ वर्ष माघ १ यले संवत् ५०८३ को अवसरमा धरान बास्केटबल सङ्घद्वारा आयोजित यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटबल प्रतियोगिता ५०८३ मा १८ टिमले सहभागिता जनाउने भएका छन् ।
पौष २९ र ३० गते हुने प्रतियोगिताको अन्तिम तयारी अनुसार बिहीबार आयोजकले खेल तालिका तयार गरी सार्वजनिक गरेको छ । धरान १२ स्थित धरान मेघा कलेजको हलमा सहभागी टिमको प्रतिनिधित्वको उपस्थितिमा खेल तालिका तयार गरिएको थियो । प्रतिगोयताको उद्घाटन खेल अल्ट्रा मेघा टिम र होलिल्याण्ड वि टिम बिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा इलाम टिम, बिर्तामोड, झापा टिम, मोरङ टिम सँगै,  धरान वाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, होलिल्याण्ड ए, होलिल्याण्ड वि, होलिल्याण्ड सि, सियोन स्कुल, लोटस स्कुल, युवा जागृति क्लब, धरान आदर्श, डिपो, काम्रेल, चिल्डे्रन स्कुल र मिराकल टिमले सहभागिता जनाएको छ ।
प्रतियोगिताका विजेता टिमले नगद सात हजार र उपविजेता टिमले नगद ३ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद १ हजार ५ सय र ट्रफि प्राप्त गर्नेछ ।

किरात समुदायहरूले माघ १ गते माघे संक्रातिलाई नयाँ वर्षको रूपमा मान्दै आइरहेको छ । हरेक वर्ष मनाउँदै आइरहेको यले संवतलाई यो वर्ष पनि किराति समुदायले यले संवत् ५०८३ को रूपमा देशभर भव्य रूपमा  मनाउदैछन । देश विदेशमा रहेका किरात समुदायहरूले समेत आ-आफ्नै तरिकाले यले संवत् यलेदोङलाई भव्य रूपमा मनाउने गरेका छन् ।