सुनसरी : विभागीय क्लब एपीएफ र लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टी२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
इटहरीमा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा एपीएफले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको हो । गण्डकीले दिएको ५२ रनको सामान्य लक्ष्य ८ दशमलव ४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । एपीएफको जीतमा कप्तान सिता राना मगरले १९ रनको नटआउट पारि खेल्दा ज्योति पाण्डे ८ रनमा आउट भइन । 
यसैगरी रोमा थापा १४ रनमा नटआउट रहँदा इन्दू बर्मा र सरिता मगरले खाता खोल्न सकेनन् । गण्डकी प्रदेशकी सृष्टि जैशीले सबै तीन विकेट आफ्नो नाममा लेखाइन । त्यसअघि इटहरी स्थित जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ५१ रन बनाएको थियो । 
कप्तान सृष्टि जैशीले सर्वाधिक १४ रन बनाउँदा अरू कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुजाता थापा र कुसुम गोदारले सात/सात रन बनाए । एपीएफकी प्लेयर अफ दी म्याच सुमन विष्टले तीन विकेट लिँदा नेरी थापा, शुष्मा श्रेष्ठ, सिता रानामगर र राजमति ऐरीले एक/एक विकेट लिए । 
आजै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले हराउँदै सुखद सुरुआत गरेको हो । 
लुम्बिनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८ ओभर १ बलमा अलआउट हुँदै ४९ रनमा समेटियो । कर्णालीका लागि यमुना थारुले १३ रन जोडिन । किरण कुँवरले १० रन जोडिन भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । कर्णालीका छ खेलाडी शून्य रनमा पेभेलियन फर्किएका थिए । लुम्बिनीका कृतिका मरासिनी र मधु डिसीले तीन तीन विकेट हात पार्दा सुस्मिता भुसालले दुई विकेट लिइन । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोडिन । सरस्वती पुनले अविजित ३० रन बनाउँदा आश्मा पुलामी मगरले १४ रन र रन्जु श्रेष्ठले १० रन जोडिन । कर्णालीका यमुना थारु र बिना थापाले दुई दुई विकेट लिइन । 
प्रतियोगिता अन्तर्गत भोलि आइतबार हुने पहिलो खेलमा एपीएफ र बागमती प्रदेशबिच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा मधेस प्रदेश र कर्णाली प्रदेशबिच खेल हुने छ ।