धरान : नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले पत्रकारिता अवार्ड २०२३ का लागि आवेदनहरू आह्वान गरेको छ । अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जाले हरेक वर्ष एक एक लाख रुपैयाँ राशिको खोजी पत्रकारिता पुरस्कार, सामुदायिक पत्रकारिता पुरस्कार र विद्वत पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । 

इञ्जा खोजी पत्रकारिता  पुरस्कार र इञ्जा सामुदायिक पुरस्कारका लागि सन २०२२ भरी प्रकाशित वा प्रसारित समाचार र आलेखको एक प्रति समेत संलग्न गरी फेब्रुअरी १ सम्ममा [email protected] मा पठाइदिन इञ्जाले आग्रह गरेको हो । 

लामो समय विश्ववैंकमा काम गरेका डा. शुकदेव साहको परिवारले पुरस्कार प्रायोजन गर्दै आएको छ । इञ्जा विद्वत पत्रकारिता पुरस्कार पत्रकारितामा एमफिल वा पिएचडी गर्दै गरेका विद्यार्थीहरूलाई प्रदान गरिन्छ । विद्वत पत्रकारिता पुरस्कारका लागि आफैँले आवेदन गर्न वा अरूले सिफारिस गर्न सक्ने व्यवस्था छ ।

इञ्जाले खोजी पत्रकारिता पुरस्कार छनोटका लागि नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष, वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा नेपाल समाचारपत्र दैनिकका समाचार सम्पादक दीपक रिजाल र राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपाने रहेको समिति गठन गरिएको । 

इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारका लागि जनता प्रसारण तथा प्रकाशन लिमिटेडका प्रधान सम्पादक, लेखन कुञ्जका सम्पादक, वरिष्ठ पत्रकार टङ्क पन्तको संयोजकत्वमा पत्रकारद्वय दीपेन्द्र दोङ र  दीपु पोखरेल ज्ञवाली रहेको समिति गठन गरिएको छ ।

इञ्जा विद्वत पत्रकारिता पुरस्कारका लागि त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुख प्रा.चिरञ्जीवी खनालको संयोजकत्वमा सोही विभागका उपप्राध्यापकहरू घमराज लुइँटेल र देवराज अर्याल रहेको समिति गठन गरिएको इञ्जा मुख्यालयका सचिव दीपक रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख  छ ।