धरान : महिना दिन देखी धारामा पानी नआउँदा धरान-७ का उपभोक्ताहरू सडकमा उत्रिएर आक्रोश पोख्न थालेपछि बल्ल वडा कार्यालयले खानेपानी बोर्डलाई पत्र लेखेको छ । वडा ७ मा बुधवार बिहान (हिजो) सात बजे उपभोक्ताहरू सडकमा उत्रिएर खानेपानी बोर्डका प्राविधिक भीम बहादुर खत्रीलाई घेराउ गर्दै आक्रोश पोखेका थिए ।
उक्त घटना पछि वडा कार्यालय धरान-७ ले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पत्र लेखेको हो । वडा अध्यक्ष जीवनराज सुवेदीले बोर्ड अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्रमा धरान-७ श्रीजंगा लुप र गोविन्द रोडमा २० दिन देखी खानेपानी नआएको ब्यहोरा अध्यक्षलाई अवगत गराएको कुरा स्मरण गराउँदै खानेपानीको व्यवस्था गरिदिन अनुरोध गरिएको छ ।
बुधवार बिहान श्रीजंगा लाइन सडकमा उत्रिएका स्थानिय उपभोक्ताहरूले धरान वडा ७ र वडा १५ मा झण्डै तिन हप्ता देखी धारामा पानी नआएको भन्दै आक्रोश प्रकट गरेका थिए । होहल्लाका बिच धरान-७ सिरिजंगा टोलकी सरु राईले १८ दिन देखी टोलमा धारामा एक थोपा पानी नआएको बताइन् । उनले खानेपानीको अधिकारीहरू तर्फ सङ्केत गर्दै भन्दै थिइन् ‘म बौलाएको छु भेटेँ भने हान्छु ।’
उनका अनुसार टोलमा पानी नआएको बारेमा वडा कार्यालय, धरान उपमहानगरपालिका, धरान खानेपानी बोर्डको कार्यालयमै गएर जानकारी गराएको हो । तर किन धारामा पानी नआएको हो भनी कसैले नभनेको र मर्मत गर्न समेत नआएकोमा स्थानिय उपभोक्ताहरू आक्रोशित भएका हुन् । 
वडा ७ मा तिन हप्ता देखी धारामा पानी नआएको कुरा वडाध्यक्ष सुवेदीको पत्रले पुष्टि गरेको छ । स्थानिय उपभोक्ताले वडाध्यक्षलाई समेत यसबारे जानकारी गराउँदै आएको बताएकाले खानेपानीको हाहाकारको कुराप्रति समयमै वडाध्यक्षहरू गम्भीर बनेको देखिन्न । उपभोक्ताहरू आक्रोशित भई सडकमा उत्रिएपछि वडाले गरेको पत्राचारबाट यसको पुष्टि हुन्छ । 
बुधवार बिहान उपभोक्ताहरूको घेराउमा परेका भल्भ अपरेटर खत्रीले भने चारकोशे जङ्गलमा पम्प गर्ने खानेपानीको पम्प मेशिन बिग्रिएकोले पानी आपूर्तिमा गडबडी भइरहेको बताए । उनका अनुसार धरान वडा १५ मा हिउँदमा जहिले पनि खानेपानीको समस्या हुने गर्दछ । यसपालि पनि त्यस्तै स्थिति सिर्जना भएको छ । खानेपानी बोर्डले भने धरानमा देखिएको पानीको हाहाकार बारे आधिकारिक भनाई सार्वजनिक गरेको देखिन्न । बोर्डका अध्यक्ष धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ हुन् ।