धरान : महिना दिन देखी धारामा पानी नआएपछि धरानमा उपभोक्ताहरू सडकमा उत्रिएर आक्रोश व्यक्त गर्न थालेका छन् । धरान वडा ७ मा आज बिहान सात बजे यस्तै दृश्य देखियो । धरान खानेपानी बोर्डका प्राविधिक भीमबहादुर खत्रीलाई धरान १५ र ७ का स्थानीयहरूले सडकमा निस्किएर घेराउ गरे ।
धरान वडा-१५ र वडा ७ मा झन्डै तिन हप्ता देखी धारामा पानी नआएको उनीहरूको भनाई छ। होहल्लाका बिच धरान-७ सिरिजंगा टोलकी सरु राईले १८ दिन देखी टोलमा धारामा एक थोपा पानी नआएको बताइन् । उनले खानेपानीको अधिकारीहरू तर्फ सङ्केत गर्दै भन्दै थिइन् ‘म बौलाएको छु भेटेँ भने हान्छु ।’
उनका अनुसार टोलमा पानी नआएको बारेमा वडा कार्यालय, धरान उपमहानगरपालिका, धरान खानेपानी बोर्डको कार्यालयमै गएर जानकारी गराएको हो । तर किन धारामा पानी नआएको हो भनी कसैले नभनेको र मर्मत गर्न समेत नआएकोमा स्थानीय उपभोक्ताहरू आक्रोशित छन् । 
घेराउमा परेका प्लम्बर खत्रीले भने चारकोशे जङ्गलमा पम्प गर्ने खानेपानीको पम्प मेशिन बिग्रिएकोले पानी आपूर्तिमा गडबडी भइरहेको बताए । उनका अनुसार धरान वडा-१५ मा हिउँदमा जहिले पनि खानेपानीको समस्या हुने गर्दछ । यसपालि पनि त्यस्तै स्थिति सिर्जना भएको छ ।