धनकुटा : महोत्सव स्थलमा अनियन्त्रित भीडका कारण शनिवार बेलुकी करिब साढे ८ बजे ठेलमठेल हुँदा झन्डै २ दर्जन दर्शक घाइते भएका छन् । धनकुटा-५ तल्लो टुँडिखेलस्थित महोत्सव स्थलमा क्षमता भन्दा बढी दर्शक उपस्थित  भएपछि घटना भएको प्रहरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका चार जना सहित १७ जनालाई  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।  केही सामान्य घाइतेको  जिल्ला अस्पताल धनकुटामा उपचार हुँदै छ । 
गत माघ ६ देखि आयोजित महोत्सवको नवौँ दिन शनिवार साँझ गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुति सुरु हुन केही क्षण अघि घटना भएको हो ।
करिब ३ हजार क्षमता रहेको स्थानमा धेरै दर्शकको भीड रहेको थियो । दुई तर्फको महोत्सव स्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । अत्यधिक भीड रहेको बेला एकै पटक बन्द गरिएको गेटको ढोका खोल्दा थिचाथिच हुँदा घाइते भएको जनाइएको छ । 
उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।