धरान : नेपाल रेडक्रस सोसाइटी सुनसरीले आर्थिक वर्ष २०७८/०७९ को एक वर्षको अवधिमा सुनसरी जिल्लाका १६५ सङ्घ, संस्था तथा व्यवसायीक प्रतिष्ठानहरूको रक्तदान कार्यक्रम मार्फत कुल ८ हजार ४ सय ३७ पिन्ट रगत सङ्कलन गरेको छ ।
सङ्कलित रगत रेडक्रसले रक्त सञ्चार केन्द्र मार्फत दुर्घटनामा घाइते, प्रसूति देखी अस्पतालमा आएका रगतको आवश्यकता परेका बिरामीहरूलाई वितरण गर्दै आएको छ । रगत बिपी प्रतिष्ठानको अस्पतालमा अत्यधिक रूपमा खपत हुने गरेको छ । 
'रक्तदान जीवनदान'को रेडक्रस अभियानलाई रक्तदान कार्यक्रम गरेर सहयोग पुर्‍याएकाका ४ वटा संस्थालाई सम्मानित गरेको छ । रेडक्रस सुनसरीको आज शनिवार सम्पन्न ४८ औँ जिल्ला सभामा प्रमुख अतिथि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीबाट संस्थाका प्रतिनिधिहरूलाई सम्मान पत्र प्रदान गरिएको हो । 
मन्त्री चौधरीले उक्त अवसरमा रेडक्रसको उद्धार कार्य, मानवीय सेवाको अभियानमा स्थानीय तहको सक्रिय सहयोग जरुरी भएको बताइन् । प्राकृतिक प्रकोप लगायतको मानवीय सङ्कटको बेला रेडक्रसको सेवा अपरिहार्य हुने बताउँदै उनले सबै स्थानीय तहले रेडक्रस सँग सहकार्य र समन्वय गरेर मानवीय सेवाको कार्य गर्न आग्रह गरिन् ।
उनले रेडक्रसको केन्द्रीय समितिमा देखिएको समस्या समाधान गर्ने प्रयासमा आफू लागेको बताउँदै ढिलो चाँडो विवादको हल गरिने प्रतिबद्धता जनाइन् । ४ वर्ष अघि रेडक्रसको केन्द्रीय महाधिवेशन धरानमा गर्ने घोषणा स्थगित भएयता रेडक्रस अहिले केन्द्रीय समिति विहीन अवस्थामा छ । पटक पटक केन्द्रीय समिति मनोनयन गर्ने र विघटन हुने समस्याले रेडक्रसको महाधिवेशन हुन सकेको छैन । 
उक्त अवसरमा मन्त्री चौधरीद्वारा सम्मानित हुने रक्तदाता संस्थाहरूमा होप धरान, ब्लड फर्म नेपाल सुनसरी, वीपीकेआइएचएस स्टुडेन्ट ब्लड डोनर कमिटी, रेडक्रस सोसाइटी इटहरी उपशाखा, युनाइटेड गोर्खा एकेडेमी (प्रा.)ली. धरान-१५ छन् । रेडक्रस सुनसरीले पहिलो पटक इटहरी स्थित वेदान्त हस्पिटललाई संस्थागत सदस्यता प्रदान गरेको छ ।
रेडक्रस उपसभापति मुकुल कायस्थका अनुसार सम्मान पत्र पाउने संस्थाहरूले रक्त सञ्चारका लागि नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको, सङ्कटकालीन अवस्थामा अहोरात्र रगतको व्यवस्थापन गर्दै आएको र रक्तदानका लागि स्थानीय सङ्घ, संस्था, समूहहरू सँग समन्वयकारी भूमिका खेल्दै आएको बताए ।
उद्घाटन समारोहमा धरान उपमहानगरपालिका उपमेयर आइन्द्र विक्रम बेघाले सङ्कटकालीन अवस्थामा रेडक्रसको सेवाबाट आफू प्रभावित भएको अनुभव सुनाउँदै भने ‘द्वन्दकालको बेलामा घाइतेहरूलाई बचाउन सुनसरी रेडक्रसले गरेको योगदान प्रत्यक्ष अनुभव गर्ने म आफै हुँ ।’ प्रदेश सांसद रमेशकुमार बस्नेतले पनि सुनसरी रेडक्रसले पुर्‍याउँदै आएको योगदानको चर्चा गरे ।
जिल्ला सभाको बन्द सत्रमा रेडक्रस मन्त्री प्रकाश राईले आर्थिक वर्ष २०७८/०७९को वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उप-कोषाध्यक्ष श्यामकुमार पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन र बन्द सत्र जिल्ला सभापति उमेश थापाको सभापतित्वमा भएको थियो । सभाले सबै प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरेको छ ।