धरान : इलाका प्रहरी कार्यालयका नयाँ प्रहरी नायब उपरीक्षक नवराज मल्लले पहिले देखी धरानको छवि धमिल्याउँदै आएको लागुऔषध सम्बन्धी अपराध नै अहिले पनि मुख्य समस्याको रूपमा विद्यमान रहेको बताएका छन् । इलाका प्रहरी धरानमा पहिलो पटक डिएसपीको पद बहाली गरेपछि आज पत्रकारहरू सँगको भेटघाटमा उनले भने ‘धरानका बारेमा नराम्रो लागेपनि लागुऔषध नै यहाँको मुख्य समस्या रहेको अहिले पनि देखिन्छ ।’
धरानमा पछिल्लो समय आर्थिक अपराधका घटना पनि बढेको उनले बताए । इलाका प्रहरीमा आएको उजुरीहरूको तथ्याङ्क हेर्दा बैङ्किङ कसुर, लेनदेनमा आर्थिक ठगीको उजुरीहरूको सङ्ख्या बढेको उनको भनाई छ । अभद्र व्यवहारका घट्नाहरुको सङ्ख्या पनि धरानमा बढेको छ । उनले भने ‘लागुऔषध देखी इलाकामा आएका उजुरीहरू सबैको बारेमा कारबाहीका लागि छानबिन गर्न कार्यालयमा जनशक्ति नपुग्ने अवस्था छ ।’
उनका अनुसार धरानको बढ्दो सहरीकरण र जनघनत्वको स्थितिमा १ प्रहरी बराबर १ हजार जनसङ्ख्या रहेको छ । पहाडी जिल्ला सङ्खुवासभामा १ प्रहरी बराबर २४८ जनसङ्ख्या मात्र पर्ने बताए । उनी सङ्खुवासभाबाट प्रहरी प्रधान कार्यालय सरुवा भई धरान आएका हुन् । नेपालमा १ प्रहरी बराबर ३ हजार ८३१ जनसङ्ख्या पर्ने जनशक्ति रहेकोमा हाल प्रदेशमा १ प्रहरी बराबर ४६८ जना र सुनसरीमा १ प्रहरीले ७६२ जनाको शान्ति सुरक्षाको निगरानी गर्नुपर्ने अवस्था भएको उनले बताए ।
आफू आउने बित्तिकै कुनै चमत्कारिक परिवर्तन गर्छु भन्ने प्रचारवादी कुरा नगर्ने बताउँदै उनले धरानका जनताको साथ सहयोगबाट यहाँको शान्ति सुरक्षाको स्थिति पहिलेको भन्दा सुदृढ बनाउने र अपराधलाई नियन्त्रण गर्ने प्रतिबद्धता प्रकट गरे । उनले भने ‘यहाँको लागुऔषधको अपराध निमिट्यान्न नहोला तर यसलाई न्यूनीकरण र नियन्त्रण गर्ने मेरो प्रतिबद्धता छ ।’
भेटघाटमा पत्रकारहरूले धरानमा लागुऔषधका अपराध नियन्त्रण गर्न समुदाय सँग मिलेर, उनीहरूबाट सूचना लिएर प्रहरीले कारबाहीलाई तीव्रता दिनुपर्ने सुझाव दिए । इलाका प्रहरी कार्यालयमा पहुँचको आधारमा उजुरी दर्ता गर्ने र नगर्ने बिचौलिया भूमिकालाई दुरुत्साहित गर्न पनि पत्रकारहरूले सुझाव दिएका थिए।