वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. ११ मधुवनमा जारी दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिताको फाइनलसम्मको समीकरण पूरा भएको छ। बिहीबार अन्तिम सेमिफाइनल खेलमा राजावास फुटबल क्लब राजावास विजय भएसँगै फाइनल पुग्ने दुवै टोलीको टुङ्गो लागेको हो । 
यस अगाडि बुधवार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटी फुटबल क्लब मोरङलाई पराजित गर्दै पाञ्चायन फुटबल क्लब राम धुनीले फाइनलको यात्रा तय गरेको थियो । स्थानीय जनता माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत अन्तिम सेमिफाइनल खेलमा राजाबास फुटबल क्लब राजावासले रामधुनी आदर्श फुटबल क्लब रामधुनि १ को विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 
खेलको १० औँ मिनेटमा रामधुनी आदर्शले अग्रता लिएको थियो । रामधुनीका लागि जर्सी नं. ८ मानिस राईले गोल गरेका थिए । १ गोलले पछि परेको राजावासले खेलको २६ औ मिनेटमा खेलमा फर्किन सफल भएको थियो । राजावासका लागि जर्सी नं. २५ का उमेश कार्कीले बराबरी गोल गरेका थिए । रामधुनि विरुद्ध आक्रामक बनेको राजावासले खेलको २९ औँ मिनेटमा पुन: १ गोल गरेको थियो । राजावासका लागि जर्सी नं १० का रोनि विष्टले गोल गरेका थिए ।
पहिलो हाफमा १ विरुद्ध २ गोलले अग्रता लिएको राजावासले खेलको थप अतिरिक्त समयमा १ गोल गरेर अग्रता बढाउन सफल भएको थियो । राजाबासका लागि जर्सी नं. ४५ का सन्तोष श्रेष्ठले गोल गरेका थिए । खेलमा राजावासमा रोशन भट्टराई म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार सहित ट्रफी हात पारेका थिए ।
स्थानीय हाम्रो एकता युवा क्लबको आयोजनामा आयोजित प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ । क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीका अनुसार प्रतियोगिताको विजेताले नगद ५१ हजार सहित मेडल र ट्रफि प्राप्त गर्नेछन् । उपविजेताले नगद ३१ हजार सहित मेडल र ट्रफि हात पार्नेछन् । प्रतियोगिता अन्तरत विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ। शुक्रवार स्थानीय व्यापारी र कर्मचारीहरू बिच मैत्रीपूर्ण फुटबल खेल हुनेछ ।