धरान : नेपाली काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिका सभापति सुजेन्द्र तामाङले विधानले अध्यक्षलाई दिएको अधिकार प्रयोग गर्दै समितिका ५२ जना मनोनीत सदस्यहरूलाई फागुन ७ गतेकै मिति देखी हटाएका छन् । काँग्रेस धरान उपमहानगर समितिद्वारा पार्टी कार्यालयमा ७२ औँ प्रजातन्त्र दिवस मनाउन आयोजित समारोहमा अध्यक्ष तामाङले क्षेत्रीय समितिका मनोनीत सबै सदस्यहरूलाई हटाएको घोषणा गरेका हुन् । 
उनले भने ‘आजैको मितिबाट क्षेत्रीय समिति विघटन गरिएको घोषणा गर्दछु ।’ काँग्रेसको विधान अनुसार अध्यक्षले कार्यसमिति विघटन गरे निर्वाचित पदाधिकारी, सदस्य बाहेक मनोनीत पदाधिकारी सदस्यहरू कार्यसमितिमा रहने छैनन् । अध्यक्ष तामाङले क्षेत्रीय समितिको बैठक बोलाउँदा पदाधिकारी समेत उपस्थित नहुने, कहिल्यै कोरम नपुग्ने स्थिति भएकोले विघटन गरिएको बताए ।
गएको चुनावमा क्षेत्रीय समितिमा रहेकाहरू समेतबाट पार्टीलाई सहयोग नभएको बताउँदै उनले पार्टी अनुशासन, प्रतिबद्धताप्रति इमानदारिता खस्कँदै गएकोले कारबाहीकै रूपमा मनोनीत सदस्यहरूलाई हटाइएको उल्लेख गरे । अध्यक्ष तामाङले भने ‘यसलाई कारबाहीकै रूपमा लिइनु पर्छ ।’ तर, उनीहरूको क्रियाशील सदस्यता, पूर्व क्षेत्रीय क्षेत्रीय सदस्य तथा पार्टी गतिविधिमा संलग्नतामा यसले कुनै असर नपर्ने उनले बताए । 
तामाङ काँग्रेसको चौधौँ महाधिवेशनको क्रममा क्षेत्रीय अध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचन लगत्तै पार्टीमा सबैलाई समेट्नका लागि उनको कार्यसमितिले विधान अनुसार क्षेत्रीय सदस्य, आमन्त्रित सदस्यहरू मनोनीत गरेका हुन् । गएको चुनावमा पार्टीको उम्मेदवार पराजित भएपछि सुनसरी-१ वर्तमान पार्टी नेतृत्व वर्ग निकै आक्रोशित भएका छन् । मनोनीत सदस्यहरू हटाइनु त्यसैको पहिलो कदम भएको बुझिन्छ ।
अध्यक्ष तामाङबाट प्राप्त नामावली अनुसार विघटनमा परेका क्षत्रिय समितिमा मनोनीत सदस्यहरूको सूचि निम्न अनुसार छ :
sadsya-haru-sunsari-1