धरान : नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारलाई दिएको समर्थन र गएको चुनावहरूमा प्रतिबद्धता दिदैं आएको लोकतान्त्रिक बाम गठबन्धनको निरन्तरता दिने कुरा फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनले निर्धारण गर्ने काँग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले बताएका छन् ।
काँग्रेस धरान उपमहानगर समितिद्वारा आयोजित ७२ औँ प्रजातन्त्र दिवस समारोहका प्रमुख अतिथि थापाले भने ‘अहिले राष्ट्रपतिको चुनावमा नेपाली काँग्रेसले अर्जुन दृष्टि दिएको छ ।’ राष्ट्रपतिको चुनावले मुलुकको आगामी राजनीतिको दिशा निर्धारण गर्ने बताउँदै काँग्रेस सरकार बनाउन चुक्यो भन्दैमा कार्यकर्ताहरू निराश भइहाल्नुपर्ने अवस्था नभएको उनको भनाई थियो ।
गठबन्धनको निहुँमा पार्टी भित्र अराजकता फैलाउने कार्य गरिनु गलत भएको बताउँदै उनले पछिल्लो समय सबै जिल्लामा कांग्रेसजनले पार्टी एकताबद्ध रहेको सन्देश दिदैं आएको उल्लेख गर्दै प्रश्न गरे  ‘हाम्रै ठाउँमा मात्र किन पार्टी अनुशासनहीन अराजकता बढेको हो ?’ 
यसअघि सुनसरी-१ क्षेत्रीय समितिका सभापति सुजेन्द्र तामाङले पार्टीमा अराजकता बढेको, बैठकमा पदाधिकारी समेत नआउँदा कोरम नपुग्ने गरेको उल्लेख गर्दै निर्वाचित बाहेकको क्षेत्रीय समिति नै विघटन भएको घोषण गरेका थिए । उनले पार्टीले चुनावमा अन्तर्घात भएको बारेमा वडा समितिहरूलाई प्रतिवेदन बुझाउन निर्देशन दिएको तर एक दुई बाहेक सबै वडाले निर्देशनको अवज्ञा गरेको बताए ।
जिल्ला सचिव माधव घिसिङले पार्टीका नेताहरूबाट हुने गुटबन्दी, नातावाद, कृपावादको कारण काँग्रेसको तल्लो तहका इमानदार कार्यकर्ताहरूमा पार्टी अनुशासन उल्लङ्घन गर्ने प्रवृत्ति बढेको बताए । प्रजातान्त्रिक प्राध्यापक सङ्घका महेन्द्र क्याम्पस इकाई अध्यक्ष उपप्राध्यापक बद्री तामाङले काँग्रेसमा नेताहरूलाई गाली गर्ने नराम्रो प्रवृत्ति बढेको बताए । काँग्रेस विरोधीहरूको चर्चा गरेर दिन बिताउने प्रवृत्तिले काँग्रेसलाई कमजोर बनाउँदै लगेको उनको भनाई थियो । 
काँग्रेस नगर सभापति श्याम पोखरेलले पार्टीमा कुनै मिहिनेत नगरी लाभको पद पाउनेहरू पार्टी गतिविधि, कार्यक्रममा सहभागी नहुने गरेको बताउँदै भने ‘उनीहरू पार्टीले मनाउँदै गरेको प्रजातन्त्र दिवसमा भन्दा रमाइलो कार्यक्रममा रुचि राख्ने भएकाले आज पनि उपस्थित भएनन् ।’
नेपाल प्रेस युनियन धरान समन्वय समितिका संयोजक मातृकाप्रसाद नेपालले प्रजातन्त्र दिवसमा हिजो पार्टीका लागि ज्यान आहुति दिने सहिदहरूको चर्चा हुने गर्छ तर आज पार्टीले धेरै इमानदार कार्यकर्ताहरूलाई जिउँदै सहिद बनाउने गरेको बताए । चुनावमा अन्तर्घात गरेर वा टिकटबाट वञ्चित गरेर इमान्दारहरु सहिद हुने गरेको उनको भनाई थियो । 
समारोहमा पार्टीका भातृ सङ्गठनहरू नेपाल महिला सङ्घ नगर अध्यक्ष सुशीला श्रेष्ठ, शिक्षक सङ्घका आशबहादुर राई, नेविसंघ महेन्द्र क्याम्पस इकाई सभापति दोर्ची शेर्पा, वडा ३ पार्टी सभापति उमेश श्रेष्ठ, नेपाल तरुण दल नगर सभापति नरसिंह राई, वडा सभापति किरण आचार्य, वडा ११ जनप्रतिनिधि वडाध्यक्ष लोकेन्द्र फागो लगायतले आफ्ना धारणा राखेका थिए ।