धरान : धरान रङ्गशाला कभर्ड हलमा जारी अल्फाबिटा अन्तर कलेज बास्केटबल प्रतियोगितामा धरान मेघा हिमालयन कलेज र सियोन स्कुल महिला टिम फाइनलमा प्रवेश गरेका छन् । 
आइतबार भएको महिला तर्फको सेमिफाइनलमा धरान मेघाले पब्लिक हाइ स्कुललाई ३४-७ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यसैगरी सियोन र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार बिच भएको प्रतिस्पर्धात्मक खेलमा सियोनले हात्तीसारलाई ९-७ अङ्कको झिनो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।  
धरान मेघा र पब्लिकले प्रत्येक क्वाटरमा १८-०, १०-२, ५-० र ४-२ अङ्क जोडे भने  सियोन र हात्तीसार कलेजले २-०, ०-३, ५-२ र २-२ अङ्क जोडेका थिए । आइतबारै भएको पुरुष तर्फको क्वाटर फाइनलमा सिटी कलेजले लोटस स्कुललाई ३०–२४ अङ्कले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
खेलमा सिटी र लोटसले प्रत्येक क्वाटरमा ८-२, ७-११, ३-४ र १२-७ अङ्क जोडेको थियो । धरान मेघाका तनु राईले ८, सियोन स्कुलका आशा लामाले ५ र लोटसका सावन मण्डलले ११ अङ्क व्यक्तिगत जोडेका थिए ।
प्रदेश १ स्तरीय प्रतियोगिता धरान बास्केटबल सङ्घको आयोजना, धरान उपमहानगरपालिकाको संयोजनमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक अल्फाबिट कोयोला एजुकेसन कन्सल्टेन्सी रहेको छ ।
प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ । प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 
भोलि सोमबार पहिलो क्वाटर फाइनल खेल युएन नवोदय क्लेज र राष्ट्रिय जनसेवक इटहरी र पुर्वान्चल इन्जिनियर क्याम्पस र बिर्तामोड झापा बिच हुनेछ । क्वाटर फाइनल खेल पुरुष तर्फ धरान सिटी कलेज र लोटस बिच हुनेछ । पुरुष तर्फ धरान मेघा हिमालयन र सिटी कलेज सेमिफाइनल प्रवेश गरिसकेका छन् ।