धरान : धरान रङ्गशाला स्थित इण्डोर बास्केटबल कोर्टमा जारी अल्फाबिटा प्रदेश १ अन्तर कलेज बास्केटबलको सोमवार भएको खेलबाट पुरुष तर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटी कलेज, राष्ट्रिय जनसहयोग कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल  प्रवेश गरेका छन् ।

आजको क्वाटर फाइनलमा राष्ट्रिय जनसहयोगले युएन नवोदयलाइ ५४-३० अङ्कले र आदर्श स्कुल बिर्तामोडले इन्जिनियर क्याम्पस धरानलाई ४२-२२ अङ्कले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

राष्ट्रिय जनसहयोग र युएन कलेजले प्रत्येक क्वाटरमा १२-६, १३-८, १२-५ र १७-११ अङ्क जोडेका थिए । यसै गरी दोस्रो खेलमा आदर्श स्कुल बिर्तामोड र इन्जिनियर कलेजले ६-३, ६-३, ११-८ र १९-८ अङ्क जोडेका थिए ।

पहिलो क्वाटर फाइनलमा राष्ट्रिय जनसहयोगका अस्मिल राईले २० र आदर्श बिर्तामोडका रोनाल शाक्यले १९ अङ्क व्यक्तिगत जोडेका छन् ।

भोलि मङ्गलवार देखि सुरु हुने पहिलो सेमिफाइनलमा सिटी कलेज धरान र राष्ट्रिय जनसहयोग इटहरी र दोस्रो सेमिफाइनलमा धरान मेघा हिमालयन र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड बिच प्रतिस्पर्धा हुनेछ ।

धरान बास्केटबल सङ्घको आयोजना, धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रतियोगिता धरान-१६ धरान रङ्गशालाको इन्डोर बास्केटबल कोर्टमा चलिरहेको छ । प्रतियोगीताको मुख्य प्रायोजक अल्फाबिटा कोयोला एजुकेशन कन्सल्टेन्सी रहेको छ । सुनसरी बास्केटबल सङ्घले प्राविधिक सहयोग गरेको छ ।

प्रतियोगिताका विजेता पुरुष टिमलाई नगद ३० हजार, उपविजेतालाई नगद १५ हजार सहित ट्रफी, मेडल प्रदान गरिने छ । महिला विजेता टिमले नगद २० हजार र उपविजेताले १० हजार सहित ट्रफी, मेडल पाउने छन् ।