धरान : धरान रङ्गशाला स्थित इण्डोर बास्केटबल कोर्टमा जारी प्रदेश १ अल्फाबिटा अन्तर कलेज बास्केटबलको आज मङ्गलवार भएको खेलबाट धरान मेघा हिमालयनको महिला र पुरुष टिम दुवै र सियोन स्कुल एवं राष्ट्रिय जनसहयोग इटहरी फाइनलमा प्रवेश गरेका छन् । 
पुरुष तर्फको सेमिफाइनलमा राष्ट्रिय जनसहयोग इटहरीले सिटी कलेज धरानलाई ४२-३० र धरान मेघा हिमालयनले आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडलाई ४५-२४ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 
पहिलो सेमिफाइनलमा राष्ट्रिय जनसहयोग र सिटी कलेजले प्रत्येक क्वाटरमा  ५-६, ८-७, १४-८ र १५-९ अङ्क जोडेका थिए । दोस्रो खेलमा धरान मेघा र आदर्श स्कुल बिर्तामोडले १३-४, ९-७, १८-४ र ५-९ अङ्क जोडेका थिए । खेलमा राष्ट्रिय जनसहयोगका सन्दीप श्रेष्ठले १८ र धरान मेघाका सबिन राईले १३ व्यक्तिगत अङ्क जोडेका छन् । 
सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको मुख्य प्रयोजक अल्फाबिट कोयोला एजुकेसन कन्सल्टेन्सी रहेको छ । प्रतियोगिताका विजेता पुरुष टिमलाई नगद ३० हजार, उपविजेताले नगद १५ हजार र महिला टिमलाई विजेता नगद २० हजार, उपविजेता १० हजार प्रदान गरिने छ ।
फाइनल खेल भोलि बिहान साढे ८ बजे महिला टिम र १० बजा पुरुष टिम बिच हुनेछ । समापनमा प्रमुख अतिथि उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ रहने जनाइएको छ । यसअघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ । कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।