धरान : धरानमा आयोजित दोस्रो प्रदेश १ स्तरीय अन्तर कलेज अल्फाबिटा बास्केटबल प्रतियोगितामा छात्र-छात्रा दुवै उपाधि धरान मेघा हिमालयन कलेजले कब्जा गरेको छ । 
समापन कार्यक्रम प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख हर्क सम्पाङले बास्केटबल सट गरे उद्घाटन गरेका थिए । फाइनल खेलमा छात्रा तर्फ सियोन स्कुललाई २९-११ र छात्र तर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाई ४२-३९ अङ्कले पराजित गर्दै धरान मेघाले उपाधि कब्जा गरेको हो । 
धरान मेघाले उपाधि सङ्गै छात्र तर्फ नगद ३० हजार र छात्रा तर्फ २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । छात्र तर्फका उपविजेता राष्ट्रिय जनसहयोगलाई २० हजार, छात्रा टिमको उपविजेता सियोन स्कुललाई नगद १० हजार रुपया, ट्रफी, मेडल प्रदान गरियो ।
उनीहरूलाई समापनका सभापति सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, अल्फाबिटका अध्यक्ष लोकेन्द्र श्रेष्ठ, प्रबन्ध निर्देशक सञ्जीव राई, बास्केटबल सङ्घका कोषाध्यक्ष गौरव श्रेष्ठले पुरस्कार वितरण गरे ।
फाइनलमा छात्रा तर्फ सहज जित निकालेका धरान मेघा र सियोन स्कुलले प्रत्येक क्वाटरमा ३-१, ६-४, ८-० र १२-६ अङ्क जोडेका थिए । छात्रा तर्फ अत्यन्त प्रतिस्पर्धात्मक फाइनलमा धरान मेघा हिमालयन र राष्ट्रिय जनसहयोगले १३-१२, १३-७, ७-१४ र ९-६ अङ्क जोडेका थिए । फाइनलमा धरान मेघाकी शीतल तामाङले १० र धरान मेघाका युवाहाङ राईले १९ अङ्क जोडे ।
धरान बास्केटबल सङ्घको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रतियोगिता भएको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधि मोस्ट भ्यालुएबल पुरस्कारको उपाधि दिदी भाइले जितेका छन् । धरान मेघा कलेजको १२ कक्षाका योगेश राई र ब्याचलर पहिलो वर्षकी तनु राईले उपाधि जितेका हुन। उनीहरूले नगद २ हजार ५ सय र ट्रफी प्राप्त गरे । 
प्रतियोगिताको हाइ स्कोरर उपाधि छात्रा तर्फ धरान मेघा कलेजका शीतल तामाङ घोषित भइन् । उनले तीन म्याचमा व्यक्तिगत २५ अङ्क जोडेकी थिइन् । छात्र तर्फ राष्ट्रिय जनसहयोगका अस्मिल राई घोषित भए। उनले ४ म्याचमा ४२ अङ्क जोडेका थिए । 
उनीहरूले नगद २ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको उदयिमान खेलाडी धरान मेघाका सबिन राई र सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन् । 
फाइनल खेल अघि भएको प्रकाश पौडेल ३ पोइन्ट कम्पिटिसनको उपाधि छात्र तर्फ धरान सिटी कलेजका हेमराज लिम्बू र धरान मेघाका तनु राईले जिते । हेमराजले तीस सेकेन्डमा ४ र तनुले ३ बास्केट गरेका थिए । उनीहरूले जनही नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । 
प्रतियोगिता सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग र अल्फाबिटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन भएको हो । समापनमा धरान १८ वडाध्यक्ष प्रवीण राई, वडा १० का  विवेक राई, वडा १६ वडाध्यक्ष मुरारी भट्टराई, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ, धरान फुटबल क्लबका अध्यक्ष किशोर राईको उपस्थिति थियो ।