सुनसरी : एभिनियर फुटबल क्लब क्यामरुन बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई १-० गोल अन्तरले पराजित गर्दै एभिनियरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 
एभिनियरको जितमा खेलको १४ औ मिनेटमा कप्तान घिनिको पासमा सबा अलिले गरेको गोल नै निर्णायक बन्यो ।
मध्यान्तर अघिसम्म दबाबमा खेलेको बागमतीले दोस्रो हाफमा पाएको केही अवसरको सदुपयोग गर्न नसक्दा क्वाटर फाइनल खेलबाटै बाहिरिनु पर्‍यो ।
दोस्रो हाफको अधिकांश समय एभिनियरलाई दबाबमा राख्न सके पनि फिनिसिङ लाइन कमजोर हुँदा एभिनियर भाग्यमानी साबित भयो । उक्त खेलको म्यान अफ द म्याच बागमतीका आयुस राणा घोषित भए ।
एभिनियरले सेमिफाइनलमा अब फागुन १८ गते भोलि सोमबारको तेस्रो क्वाटर फाइनल खेल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
भोलि सोमबारको खेल नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापाबिच हुनेछ । फागुन २० गतेसम्म चल्ने गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछन् ।