सुनसरी : बुढासुब्बा गोल्डकप फुटबल अन्तर्गत आज हुने दोस्रो क्वाटर फाइनल खेलमा बागमती युवा क्लब सर्लाही र एभिनियर एफसी क्यामरुन बिच खेल हुदैछ । आयोजकले दिएको जानकारी अनुसार खेल धरान रङ्गशालामा दिउसो ३ बजे सुरु हुनेछ । 
यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै युकेएफसी भारत सेमिफाइनल प्रवेश गरिसकेको छ। 
बागमती युवा क्लब सी डिभिजन क्लब हो । उसले यसै वर्ष मात्र घरेलु गोल्डकपहरुमा केही ए डिभिजन क्लबहरूलाई पराजित गरेको थियो । पछिल्लो पटक बागमतीले हेटौडामा सम्पन्न स्थानिय तह सहिद स्मृति राष्ट्रिय गोल्डकपमा एपीएफलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । 
उसैले आयोजना गरेको सातौँ राजर्षि जनक कप फुटबलमा बागमतीले पाहुना टोली धरान फुटबल क्लबमाथि ५-१ के जित दर्ता गरेको थियो । उक्त प्रतियोगितामा बागमती मच्छिन्द्र क्लबसँग ५–३ गोल अन्तरले पराजित बन्न पुगेको थियो ।
बागमतीबाट विक्रम धिमाल, सागर शाही, विमल घिसिङ, सिर्जन शाही, दीपेश चाम्लिङ र अभिषेक वाइबा लगायतले खेल्दै आएका छन् । 
यसै सिजनबाट नेपालमा विभिन्न गोल्डकपहरु खेल्न थालेको क्यामरुनी क्लब एभिनियरले गत जेठमा सम्पन्न मकवानपुर गोल्डकपमा चर्च ब्वाइज क्लबलाई ४-० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।