धरान : हिजो राती आएको हुरी बतासले धरान रंगशालमा चलिरहेको धरान एक्स्पोका केही स्टलहरूलाई क्षति पुर्‍याएको छ । एक्स्पोस्थल उत्तर तर्फ रहेका खाजा स्टलहरूको टेन्ट हुरी बतासको दबाबले ढल्काएर क्षति पुर्‍याउँदा स्टलमा रहेका सामाग्रीहरूको पनि नोक्सानी भएका छन् ।
हुरी बतासले मञ्चको दक्षिण तर्फका कपडा, तिन पाने सहितका केही स्टलहरूमा पनि क्षति पुर्‍याएको छ । उत्तर तर्फ १६ वटा स्टलहरू र दक्षिण तर्फ ४/५ स्टलहरूलाई हुरी बतासले क्षति पुर्‍याएको हो । एक्स्पो आयोजक समिति तथा सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानका अनुसार क्षति पुगेको स्टलहरू ३-४ बजे सम्ममा मर्मत भइसक्ने छ ।
साँझको साङ्गीतिक कार्यक्रम सकेर दर्शकहरू घर फर्किसकेपछि हुरी बतास आएकोले कुनै मानवीय घटना नभएको उनले बताए । तथापि खाजा घरका खाद्यवस्तु सहितका क्षतिको प्रारम्भिक अनुमान गर्दा ८ देखी १० लाख रुपया सम्मको क्षति हुरी बतासले पुर्‍याएको छ ।
यसपालि एक्स्पोमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शन हल डूमको व्यवस्था गरिएकाले व्यापारिक स्टलहरूलाई हुरी बतासले कुनै क्षति नपुर्‍याएको महासचिव प्रधानले बताए । धरानमा पहिलो पटक व्यापार मेलामा  वृहत् ह्याङ्गरको प्रयोग गरिएको हो ।
एक्स्पोको प्रदर्शनी र सांस्कृतिक कार्यक्रमको स्टेजलाई हुरी बतासले कुनै क्षति नगरेको बताउँदै उनले भने ‘एक्स्पोका कार्यक्रमहरू आज पनि नियमित चलिरहेका छन् ।’ हुरी बतासले पुर्‍याएको स्टलका क्षति सामान्य भएको उनको भनाई छ ।
यसैबिच एक्स्पोमा तयारी अवस्थामा रहेको रोटे पिङ, झुला सहितको बाल उद्यान आज देखी सञ्चालन हुने भएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताएका छन् । मेयर हर्क साङपाङबाट बाल उद्यानका खेलहरू सञ्चालन गर्न स्वीकृति दिएको उनले बताए ।
यसअघि एक्स्पोको सबै तयारी पुरा भए पनि बाल उद्यानको खेलाहरू भने सञ्चालन गर्न मेयर साङपाङले रोक लगाएका कारण सञ्चालन हुन सकेको थिएन । उत्सव, पार्कहरूमा जुवाजन्य खेला वर्जित भए पनि  रोटे पिङ, झुला लगायतका बालबालिकाको खेलका कुराहरू सामान्य रूपमा चलेका हुन्छन् । धरान एक्स्पोमा भने त्यस्तो खेल रोकिएकोमा सबै अचम्मित भएको कुरा फेसबुकमा भाइरल भएको थियो ।
Expo-huri-ksheti
upahamahangar-ko-anumati