सुनसरी : पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा काँकडभिट्टाले विभागीय टिम नेपाल पुलिस माथि २-० को सहज जित दर्ता गर्‍यो ।
भद्रपुर झापा गोल्डकपमा चर्च ब्वाईज क्लबसँग पराजित भएर बुढासुब्बा गोल्डकप खेलेको पुलिसलाई पराजित गर्ने क्रममा काँकडभिट्टाका निशान लिम्बुले दुई गोल गरे । उनले खेलको २० औ र ८१ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच लिम्बु नै घोषित हुँदै नगद १० हजार हात पारे।
आजको विजेता काँकडभिट्टाले अगामी बुधवार हुने पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि युकेएफसी उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।
भोलि मङ्गलवारको अन्तिम क्वाटर फाइनल खेल एन्फा मोरङ र बङ्गलादेशको केबिपिएस क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।