सुनसरी : बुढासुब्बा गोल्डकप फुटबल अन्तर्गत आज सोमबार हुने तेस्रो क्वाटर फाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा बिच खेल हुदैछ ।
खेल धरान रङ्गशालामा दिउसो ३ बजे सुरु हुनेछ । नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डकपको सर्वाधिक सफल टोली हो । एघार पटक फाइनल खेलेको पुलिस ५ पटकको विजेता टिम पनि हो ।
आजको खेलमा पनि पुलिस काँकडभिट्टा रोक्दै अन्तिम चारमा पुग्ने दाउमा हुनेछ । काँकडभिट्टा पनि पुलिसलाई हराउँदै सेमिफाइनल प्रवेश गर्ने दाउमा हुनेछ । आजको विजेताले अगामी बुधवार हुने पहिलो सेमिफाइनलमा युकेएफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । युकेएफसी उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ।
भद्रपुर झापा गोल्डकपमा चर्च ब्वाईज क्लबसँग पराजित भएर बुढासुब्बा गोल्डकप खेल्न लागेको पुलिसको कप्तानी जुमानु राईले सम्हाल्ने छन् । पुलिस क्लबबाट अनुभवी खेलाडी भोला सिलवाल, सुमन सुबेदी, सन्तोष हेमरन, बुद्ध लामा, हेम तामाङ, मानबहादुर परियार लगायतका खेलाडी खेल्नेछन् । पुलिसको प्रशिक्षक सञ्जीव जोशीले सम्हाल्नेछन् भने कप्तानी सम्भवतः जुमानु राईले गर्नेछन्।
आजको खेलमा काँकडभिटाले ३ जना विदेशी खेलाडी मैदानमा उतार्ने तयारी गरेको छ । खामिर गिल्सन कन्दङ्वाको कप्तानीमा रहेको काँकडभिटाबाट अधिकांश ए डिभिजन खेलाडीहरूले खेल्नेछन् । अनुभवी खेलाडी विश्वास श्रेष्ठ, निशान लिम्बु, मिलन राई सुशील राई, दिवस उराव पनि टिममा देखिने छन् ।
हिजो आइतबार भएको खेलमा बागमती युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी क्लब एभिनियर एफसी सेमिफाइनल प्रवेश गरिसकेको छ ।