सुनसरी : २३औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ ।
आज शनिवार सम्पन्न फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १-० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो ।
एभिनियरको जितमा सब्बा अलीले खेलको ६५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधि विजेता एभिनियरले नगद १० लाख र उपविजेता काँकडभिट्टाले ५ लाख हात पारेका छन् ।
अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै क्यामरुनी फुटबल टिम एभिनियर फाइनलमा पुगेको थियो भने पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ क्लब युकेएफसी भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनल खेल खेलेको हो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी काँकडभिट्टाका मिलन राई घोषित भए । उनले एक लाख नगद पुरस्कार पाए । खेलको म्यान अफ द म्याच क्यामरुनी खेलाडी रिचर्ड विल्सन भए । उनले नगद १० हजार पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर क्यामरुनकै साङगु, उत्कृष्ट मिडफिल्डर जोए एल्डु, उत्कृष्ट स्ट्राइकर केएफटीसीका यामी, उत्कृष्ट गोलकिपर मोरङका प्रजन गच्छदार, उत्कृष्ट खेलाडी केएफटीसीका मिलन राई, उत्कृष्ट प्रशिक्षक क्यामरुन टिमका आशिक थापा मगर घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ पाए।
उदीयमान खेलाडी आयोजक धरान फुटबल क्लबका विवेक राई घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए । सर्वाधिक गोलकर्ता केएफटीसीका निशान लिम्बु भए । उनले नगद ३५ हजार प्राप्त गरे ।
फागुन १३ गते देखी भएको गोल्डकपमा ३ विदेशी सहित ८ टिमको सहभागिता रहेको थियो ।

Camroon-winner23-goldcup