सुनसरी : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिवार एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबिच प्रतिस्पर्धा हुदैछ ।

खेल दिउसो २ बजे धरान रङ्गशालामा हुनेछ । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी फुटबल टिम एभिनियरले काँकडभिट्टा सँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

त्यसअघि बुधवार भएको पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ क्लब युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

दुवै टिमले क्वाटरफाइनल तथा सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेकाले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । इटहरी गोल्डकप र बुढासुब्बा गोल्डकपमा सहभागिता जनाउँदै आएको काँकडभिट्टाले केही विदेशी खेलाडी पनि समावेश गरेर खेल्दै आएको छ भने अन्य खेलाडी अधिकांश सुनसरी र झापाका रहेका छन् ।

उनीहरूमध्ये केही ए डिभिजन क्लबमा आबद्ध रहेका छन् । अधिकांश खेलाडी हिमालयन शेर्पा क्लबबाट खेल्दै आएका छन् भने केही मनाङ मर्स्याङ्दीबाट खेल्दै आएका छन् । शारीरिक रूपमा बलियो र अनुभवी खेलाडी रहेको एभिनियरले यसै बर्षमात्र आधा दर्जन गोल्डकपमा सहभागिता जनाई सकेको यद्यपि ठुला गोल्डकपको उपाधि भने जित्न सकेको छैन ।