धरान : पत्रकार हिमाल दाहाल ‘सेछ पर्यटन पत्रकारिता पुरस्कार २०७९’बाट पुरस्कृत भएका छन् । सेछ ट्राभलिङले पत्रकार दाहाललाई पर्यटन क्षेत्रको विकासका लागि पत्रकारितामार्फत योगदान दिएको १० हजार रुपैयाँ नगद सहित पुरस्कृत गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँतीसँगै सेछका सञ्चालक वासुदेव बराल र सेछ ट्राभलिङकी प्रोप्राइटर एलिना थापामगरले दोसल्ला तथा प्रमाणपत्र प्रदान गरेका थिए । सेछ ट्राभलिङ धरानले वर्षेनी एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष वासुदेव बरालले जानकारी दिए । 
कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेपालको पर्यटन अझै पनि परम्परागत तरिकाले अघि बढिरहेको र यसमा धेरै सुधारको कामहरू गर्न आवश्यक रहेको बताएका थिए । उनले पर्यटन क्षेत्रको विकासको लागि धेरै काम गर्न आवश्यक रहेको बताउँदै आफूले नीतिगत तथा संरचनागत सुधारमा जोड दिएको बताए । उनले चिण्डे डाँडा क्षेत्रमा सडक पूर्वाधार विकासको लागि प्रतिबद्धतासमेत जनाएका थिए । पर्यटन विकासको लागि धेरै कामहरू पर्यटन व्यवसायीहरूले गरिरहेको जनाउँदै सरकारको तर्फबाट सक्दो सहयोग हुने बताएका थिए । 
धरानको चिन्डे डाँडामा रहेको सेछ एड्भेन्चर पार्कमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले जिपलाइन तथा स्काइ साइक्लिङजस्ता साहसिक खेलहरू रुचि पूर्वक हेरेका थिए । पार्कमा विभिन्न किसिमका साहसिक खेलहरूका साथै फायर क्याम्प लगायतका सुविधासमेत रहेको छ । 
सेछले पर्यटन क्षेत्रको विकासमा विभिन्न किसिमका रचनात्मक कार्यहरू गरिरहेको छ। पुराना वस्तुहरूको सङ्ग्रहालय बनाउने, भारतसम्म पुगेर नेपाली पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने काम गरिरहेको छ । सेछले सेछ ट्राभलिङ, होटेल सेछ समेत सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले सेछले सरकारले गर्नुपर्ने कामहरू निजी क्षेत्रबाट गरिरहेको भन्दै कार्यक्रममा प्रशंसा गरेका थिए ।