• रश्मि प्रधान
धरान : पदयात्रा पर्यटन प्रवर्द्धनका लागि धरानबाट हिँडेका सहकारी पदयात्रीहरूलाई धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेमा भव्य स्वागत भएको छ । पदयात्रीहरू सोमवार बिहान ८ बजे धरान फुस्रेबाट धरान-धनकुटाको पुरानो साँगुरी डाँडाको बाटो हिँडेका थिए । उनीहरू भेडेटारमा भात खाई ९ घण्टा लगाएर दिउँसो ५ बजे नाम्जे पुगेका थिए ।
नाम्जे स्थित सामुदायिक होमस्टेमा भएको स्वागत तथा सम्मान कार्यक्रममा पदयात्री टोलीले सहकारीहरूका तर्फबाट साँगुरीगढी गाउँपालिका प्रमुख जितेन्द्र रुम्दालीलाई बधाई दिदैं शुभकामना पत्र प्रदान गरेको थियो । उक्त अवसरमा प्रमुख रुम्दालीले सहकारीहरूमा अप्ठ्यारो स्थिति आउनुका एउटा कारण शेयर सदस्यहरू बिच विमति बढ्नु पनि रहेको बताए ।
उनले भने ‘शेयर सदस्यहरूको बेमेल र विमतिको कारणले कतिपय सहकारी अप्ठ्यारो स्थितिमा पुगेको देखिन्छ ।’ उनले आफ पनि पूर्व सहकारीकर्मी भएकोले जुन उद्देश्यका साथ सहकारी सुरु गरिएको हो त्यही उद्देश्य अनुसार काम गर्दै गए प्रतिफल राम्रै दिने बताए।
विश्व अर्थतन्त्र अप्ठ्यारो स्थितिमा रहेकोले सहकारीलाई पनि त्यसको असर परेको बताउँदै सहकारीहरू बिच सहयोगी सम्बन्ध बढाउने अवधारणाको विकास जरुरी भएकोमा जोड दिए । भेडेटार, नाम्जेबासी एक पोका नुन देखि सुन किन्न पनि धरान पुग्ने भएकाले धरान र सागुरिगढीको सम्बन्ध नङ र मासुको जस्तो भएको धरान र भेडेटार क्षेत्रको विकासमा लागि संयुक्त प्रयास जरुरी भएको बताए । 
गाउँपालिका प्रमुख रुम्दालीले पर्यटनको जतिसुकै ठुला कुरा गरे पनि निजी लगानीकर्ताहरूलाई  प्रोत्साहन र प्रवर्द्धन गर्न नसकेसम्म पर्यटन प्रवर्द्धन नहुने स्पष्ट गर्दै भने ‘पर्यटनको दिगो विकासका लागि निजी लगानीकर्ता, सरकार र वित्तीय क्षेत्रको संयुक्त प्रयास जरुरी छ ।’
प्रमुख अतिथि प्रदेश सहकारी सङ्घ उपाध्यक्ष शारदा थापामगरले एउटा बिराउने शाखा पिराउने भनाई जस्तै सहकारीहरूप्रति आम समुदायमा धारणा बढेका बताए । उनले भने ‘सहकारीले सामना गर्नु परेको यो समस्याका कारण निक्षेपकर्ताबाट पिरोलिएको अवस्था छ ।’
यसबाट विचलित नभै निरन्तर उद्देश्य अनुरूप एक ढिक्का भएर अन्तर सहकारी सहकार्य पर्नु पर्ने आवश्यकता बढेको उनले बताए । पदयात्राले आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्नेका साथै सहकारीहरू बिच आपसी सहयोगको वातावरण बन्ने उनले विश्वास व्यक्त गरिन् । 
कार्यक्रममा सुनसरी जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी प्रधान, बचत सङ्घ सदस्य मान बहादुर  मगरको पनि उपस्थिति थियो । धरान नगर सहकारी अध्यक्ष मिसन लामाको सभापतित्वमा भएको कार्यक्रममा नवीन मेन्याङबोले सञ्चालन गरेका थिए ।