काठमाडौँ : गणतन्त्र नेपालको चौथो कार्यकालका लागि राष्ट्रप्रमुखको निर्वाचन आज हुँदैछ । राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।
निर्वाचन प्रक्रिया अहिले बिहान १० बजेबाट सङ्घीय संसद् कार्यालय बानेश्वरमा सुरु हुँदै छ । निर्वाचन आयोगले १० बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ । नतिजा आजै सार्वजनिक गर्ने आयोगले जनाएको छ । नतिजा सार्वजनिक हुने बित्तिकै नेपालले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउनेछ ।
निर्वाचनमा ८८२ मतदाताले भाग लिने आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा उल्लेख गरिएको छ । 
नेपाली काङ्ग्रेसबाट उम्मेदवारको रूपमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । यस्तै, नेकपा एमालेको तर्फबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई आठ दलले समर्थन गरेका छन् ।
काँग्रेस बाहेक नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले सहयोग गरेका छन् । 

यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने बताएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बुधवार बसेको बैठकले तटस्थ बस्ने निर्णय गरेको थियो।

राप्रपासँग सङ्घीय र प्रदेश सांसद गरी कूल २ हजार ४ सय ५० मतभार छ। राप्रपामा प्रतिनिधि सभा सांसद १४ जना र प्रदेश सभा सदस्य २८ जना छन्।

राप्रपाले २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनमा भने मतदान गरेको थियो। त्यसबेला राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन मात्रै मतदाता थिए। तत्कालीन नेकपा एमालेबाट राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीलाई राप्रपाले मतदान गरेको थियो। यता, एमाले उम्मेदवार सुवास नेम्वाङलाई भने अन्य दलले सहयोग गरेका छैनन् ।

राष्ट्रपतिमा दुवै उम्मेदवार पूर्वसभामुख हुन् । २०५१ सालको संसद्मा काँग्रेस नेता रामचन्द्र पौडेल सभामुख बनेका थिए । यस्तै, नेम्वाङ २०६४ र २०७० को संविधान सभा अध्यक्ष हुन् । उनी ०६३ मा पुनर्स्थापित संसद्को सभामुख हुन् ।