सुनसरी : विभागीय टोली त्रिभुवन आर्मीको जीतसँगै १३औ इटहरी गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ ।

अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई ४-१ गोल अन्तरले हराएको हो । आर्मीको जीतसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको छ । आर्मीको जितमा दीपक गुरुङ, जिलेस्पीजंग कार्की, सुदिल राई र पदम तामाङले १/१ गोल गरे ।

रोलिङका डेडी वाम्बाले सान्त्वना गोल फर्काए । खेलको सुरुवातबाटै दबाब बनाएको आर्मीले तेस्रो मिनेटमा अग्रता बनायो । डिबक्स नजिकबाट उनले गरेको प्रहार सिधै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयमा कप्तान कार्कीले अग्रता दोब्बर बनाए ।

युद्ध शाहीको पासलाई कार्कीले सदुपयोग गर्दै अग्रता दोब्बर बनाएका हुन् । पहिलो हाफमा २ गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप २ गोल गर्न सफल रह्यो ।

६२ औ मिनेटमा सुदिल राईले अग्रता ३-० बनाए । दिनेश हेन्जनको पासलाई राईले जाली चुमाए । ६४ औ मिनेटमा रोलिङका अफ्रिकी खेलाडी वाम्बाले पेनाल्टी मार्फत अग्रता ३-१ मा झार्न सफल भए । डिबक्सभित्र विमल पाण्डेले ह्यान्ड गरेपछि पाएको अवसरलाई वाम्बाले खेर फालेनन् ।

इन्जुरी समयमा तामाङले गोल गरेपछि आर्मी ४-१ गोल अन्तरको स्पष्ट जित सहित सेमिफाइनल प्रवेश गरेको हो । रोलिङ गत संस्करणमा समेत आर्मीसँग पराजित भएको थियो । १२ औ संस्करणमा सेमिफाइनलमा भिडेका २ टोली यस पटक क्वाटर फाइनलमा आमने सामने भएका थिए ।

आर्मीले आगामी चैत्र ९ गते फाइनल प्रवेशका लागि चिरप्रतिद्वन्द्वी चर्च व्वाइज युनाइटेड सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन सगरमाथा यूथ क्लबले लिग विजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

सगरमाथाले क्यामरुनी टोली एभेनियरलाई हराउँदै सेमिफाइनल स्थान बनाएको थियो । मछिन्द्रले आयोजक टोली राष्ट्रिय जागृति क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लिगमा लगातार खेलका कारण अपेक्षा अनुरूप प्रदर्शन नभएको बताए । उनले खेलाडीहरूको थकानका कारण २५ प्रतिशत मात्र खेल देखाउन सकेको बताए । न्यौपानेले आजको खेलमा सुरुवातमा स्कोर निस्किएपछि पनि पाएको धेरै अवसरहरू सदुपयोग हुन नसकेको बताए ।

खेलाडीहरूको थकानका कारण आस गरिएका खेलाडीहरूबाट अपेक्षाकृत प्रदर्शन नभएको बताए । पहिलो रोजाइका केही खेलाडीहरू राष्ट्रिय क्याम्पमा भए पनि जुनियर खेलाडीहरूबाट स्कोर निस्किरहेको बताए । रोलिङका प्रशिक्षक मुकुम लिम्बुले डिफेन्समा बिल्डअप नहुँदा पराजय भोगेको बताए । उनले गोलरक्षकको गल्ती कारण गोलका अवसरहरू धेरै निस्एिको बताए ।

लिम्बुले ए डिभिजन लिगका कारण राम्रा खेलाडीहरू नपाएको कारण प्रतिस्पर्धात्मक टोली तयार गर्न नसकिएको बताए । अफ्रिकी खेलाडीहरू भए पनि अपेक्षा अनुरूप प्रदर्शन गर्न चुकेको उनको भनाइ थियो।

man-of-the-match12-07