धरान : कोशी प्रदेश सरकारले कोशी प्रदेश खारेजी र पुनः नामकरण आन्दोलनका क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई तत्काल राहत स्वरूप ३ लाख रूपैंया उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरीषदको आज बसेको २५ औँ बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री हिक्मत कार्कीको सचिवालयले जनाएको हो । लाजेहाङ प्रदेश पुनः नामकरण मागको आन्दोलनमा चैत ५ भएको विराटनगरमा भएको विरोध प्रदर्शनमा घाइते भएका थिए ।

टाउको प्रहरीको लाठीले चोट लागेका उनको चैत १० गते बिपी प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रदेश मन्त्री परिषद्को बैठकले पदम लिम्बु लाजेहाङको दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गरेको छ ।

मन्त्री परिषद्को निर्णयमा ‘मृतक पदम लिम्बू प्रति हार्दिक श्रद्धाञ्जली एवं  परिवारजनमा  गहिरो दुःख एवं हार्दिक समवेदना प्रकट गर्दछ । तत्काल राहत स्वरूप मृतकका परिवारलाई रु. तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानवीन समितिलाई सहजीकरण गर्ने’ उल्लेख छ ।

बैठकले प्रदेश नामकरणमा भूमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरू, प्रदेश सभा सचिवालय, प्रदेश सभामा उपस्थित सम्पूर्ण राजनीतिक दलहरूलाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशवासी लाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री परिषद्ले पर्यटन, वन वातावरण मन्त्रालय द्वारा पेस गरिएको दुईवटा संशोधन विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । उक्त विधेयकहरू प्रदेश वातावरण संरक्षण ऐन २०७६ मा संशोधन गर्न बनेको विधेयक र प्रदेश वन ऐन २०७७ मा संशोधन गर्न बनेको विधेयक छन् ।