धरान : आर्थिक मन्दीका कारण बैङ्कहरूले बढाएको ब्याजदरको विरोधमा उद्योगीहरू आन्दोलनमा छन् । अधिकांश सहकारी संस्थाहरू सङ्कटको अवस्थामा पुगेका छन् ।

पछिल्लो समय लघुवित्तको ऋण तिर्न नसक्दा घर परिवार उठिबास भएका समाचारहरू बिच २० लाख मुनीका ऋण मिनाहा हुनुपर्ने माग सहितको अभियान पनि चलिरहेको छ ।

यस्तो स्थितिमा महिला समूहमा केन्द्रित लघुवित्त संस्थामा बढेको जोखिम न्यूनीकरण गर्न जीवन विकास लघुवित्त वित्तीय संस्था वित्तीय साक्षरता बढाउनमा लागेको छ ।

धरानमा आज सोमवार आयोजित वित्तीय साक्षरता गोष्ठीमा जीवन विकासका वित्तीय प्रमुख अञ्जयकुमार मण्डले भने ‘लघुवित्तको ऋण मिनाहा हुदैंन भन्ने कुरामा सबै स्पष्ट हुन जरुरी छ ।’

ऋण मिनाहाको माग, ऋणको कारण घरबार गुमेको मिडियाका कुराले भ्रममा नपर्न आग्रह गर्दै उनले लघु वित्तको ऋण बचत सङ्कलन गरी स्वआर्जनका लागि प्रदान गरिने ऋण भएको बताए । एक जनाले चुक्ता गरेको ऋण अर्को परिवारको स्वरोजगारको पुँजी हुने उनको भनाई थियो ।

संस्थाकी रमाइलो मोरङ केन्द्रकी प्रमुख पुनम रोगू राईले लघुवित्तमा आबद्ध भएपछि स्वरोजगारले जग्गा समेत किन्न सकेको बताउँदै भनिन् ‘ऋण मिनाहा हुँदैन, तर ऋणको सदुपयोग गर्नुपर्छ ।’

गोष्ठीमा धरान शाखाका महिलाहरू सहभागी थिए । धरान शाखा अन्तर्गत धरान, वराहक्षेत्र र केराबारीका केन्द्रहरू सञ्चालनमा छन् । धरान शाखाको बचत चालु आर्थिक वर्षमा १२ करोड ३३ लाख ९४ हजार २४३ रुपया बचत सङ्कलन रहेको शाखा प्रमुख राजेशकुमार मण्डलले बताए । ऋण लगानी भने बचत भन्दा दोब्बर २४ करोड, ६८ लाख, ३५ हजार, ९४३ रुपया रहेको छ ।

धरानका वरिष्ठ सहायक सुरेश बानियाका अनुसार ऋणको माग बढेमा संस्थाको केन्द्रीय कार्यालयले अन्य वित्तीय संस्थाबाट ऋण लिएर शाखामा प्रवाह गर्ने बताए । धरान शाखामा ऋण फिर्ता अवस्था शतप्रतिशत रहेकोले अहिले सम्म ऋणको बारेमा समस्या नआएको उनको भनाई छ ।

संस्थाले बचतमा ७ दशमलव ५ प्रतिशत व्याज दिने गरेको छ । ऋणमा भने १५ प्रतिशत व्याज र १ दशमलव ५ प्रतिशत सेवा शुल्क लिने गरेको छ ।

गोष्ठी उद्घाटन समारोहमा प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर आइन्द्रविक्रम बेघा थिए । संस्थाका कार्यकारी प्रमुख दामोदर रेग्मीको विशेष उपस्थिति थियो ।

२०५४ सालमा मोरङको धनपालथानमा जीवन विकास समाजको रूपमा लघुवित्त स्थापना भएको हो । हाल प्रधान कार्यालय कटहरी मोरङमा छ । संस्थाले २०७५ सालमा राष्ट्र बैङ्कबाट 'घ' वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको छ ।