धरान : कोशी प्रदेश नामाङ्कन खारेजी, पुनः नामकरणको माग सहित चलिरहेको आन्दोलनका कार्यक्रम अनुसार आज एकै दिनमा प्रदर्शनकारीले धरान उपमहानगरपालिको मुलगेट सहित १२ वटा वडा कार्यालयमा तालाबन्दी गरे । एक विद्यालयको साइनबोर्ड समेत बन्चरोले काटेका छन् ।

‘कोशी प्रदेश’ लेखिएको कार्यालय छाप, लेटरप्याड कार्यालयमा फेला परे निकालेर जलाउँदै तालाबन्दी गरिएको हो । सुरक्षाकर्मीले हस्तक्षेप गरेमा भिड्ने मनस्थिति लिएर अग्रपङ्क्तिमा अन्य प्रदर्शनकारीलाई सुरक्षित गर्ने तयारी पनि आज देखियो । उनीहरूले हेलमेट लगाएका थिए ।

धरान उपमहानगरपालिका कार्यालयमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको थियो । प्रदर्शनकारीले करिब एक घण्टा नाराबाजीका साथै मूल गेटमा कोण सभा पनि गरेका थिए । उनीहरूले मुख्यमन्त्री हिक्मत कार्की विरुद्ध नाराबाजी समेत गरेका थिए । 

यसअघि कार्यालयबाट कोशी प्रदेश लेखिएको छाप ल्याएर मूल गेट अगाडि जलाइएको थियो । प्रदर्शनकारीले तालाबन्दी गरेपछि कार्यालयबाट कर्मचारीहरूलाई बाहिर निकोलेका थिए । कर्मचारीहरू बाहिर निस्किएर हिँडेपछि सुरक्षाकर्मीहरू गेट बाहिर आएका थिए ।

प्रदर्शनकारीले किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीका झण्डा बोकेका थिए । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरी जिल्ला अध्यक्ष अमर इजमले भने ‘सुरक्षाकर्मीले हस्तक्षेप गरेमा भिड्ने मनस्थितिमा साथीहरू थिए ।’

यसअघि बिहान ९ बजो प्रदर्शनकारीको समूहले धरान वडा-१५ कार्यालयमा तालाबन्दी गरेका थिए । चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले कार्यालयको मूल ढोकामा ताल्चा लगाउँदै ‘कोशी प्रदेश’ खोरज गरी पुनः नामाङ्कन नभए सम्म आन्दोलन नरोकिने बताए ।

त्यहाँबाट प्रदर्शनकारीहरू वडा-५ को कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । त्यहाँ तालाबन्दी गरेर फर्किँदै गरेको अवस्थामा सोही वडा स्थित हिमाली मावि स्कुलले नयाँ साइन बोर्ड बनाई ‘कोशी प्रदेश’ लेखिएको देखेपछि प्रदर्शकारीहरुले बन्चरोले साइन बोर्ड काटेर ध्वस्त बनाई दिएको इजमले बताए ।

उनका अनुसार उपमहानगरपालिकामा तालाबन्दी, कोण सभा गरेपछि वडा १२ को कार्यालयमा तालाबन्दी गरियो । वडा १० को बन्द रहेको कार्यालयमा कोशी प्रदेश लेखिएको देखिएपछि साइन बोर्ड भत्काइयो ।

तालाबन्दी गर्दै हिँडेको प्रदर्शनकारीको समूह सँग वडा नं २, ७ र १६ मा वडाध्यक्षहरू सँग आमने सामने भएको थियो । उनीहरू सँग सामान्य वादविवाद भए पनि हस्तक्षेप कसैले गरेनन् । सलोराम नेता अमर इजमले भने ‘पूर्व जानकारी दिएर तालाबन्दीका लागि आएको भए राम्रो हुन्थ्यो भन्ने वडाध्यक्षहरूको गुनासो थियो ।’

प्रदर्शनकारीहरूले यसैगरी वडा १, ११, १७, १३, १४, ९ वडा कार्यालयहरूमा पनि तालाबन्दी गरेका छन् । बेलुका ५ बजे सम्म गरिएको तालाबन्दी अभियानको क्रममा वडा १४ मा झडप हुने स्थिति सुरक्षाकर्मीले सिर्जना गरेका थिए । तथापि कुनै अप्रिय घटना भएन । सबै वडा कार्यालयहरूमा सुरक्षाकर्मी तैनाथ पाइएको इजमले बताए ।