धरान : कोशी प्रदेश नामाङ्कन खारेज गरी पूनःनामाकरण मागका आन्दोलनकारीहरूले आज शुक्रवार इटहरी उपमहानगरपालिकाका ८ वटा वडा कार्यालयहरूमा तालाबन्दी गरेका छन् । तालाबन्दी गरिएकाहरूमा वडा १,२,३,४,५,९,१९ र २० वडा कार्यालयहरू हुन् । 
नाराबाजी गर्दै वडा कार्यालयहरू पुगेका प्रदर्शनकारीहरूले कोशी प्रदेश लेखिएका लेटर प्याड, छाप बाहिर ल्याएर जलाउँदै तालाबन्दी गरेका हुन् । 
तालाबन्दी अघि प्रदर्शनकारीले कार्यालयमा रहेका वडा अध्यक्ष तथा कर्मचारीहरूलाई बाहिर निस्कन आग्रह गरेका थिए । 
किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य विक्रम तुम्बाहाङ लिम्बुका अनुसार कार्यालयमा उपस्थित पाइएका वडाध्यक्ष, सदस्य, कर्मचारी कसैले पनि आन्दोलनप्रति प्रतिकार गरेनन् । 
वडा २० मा भने तालाबन्दी गरेर फर्किन लाग्दा नजिकैको प्रहरी चौकीबाट प्रहरीहरू आएर ताला खोल्ने प्रयास गरेपछि प्रदर्शकारीहरुले कार्यालयको झ्यालका सिसाहरू फुटाउनुका साथै प्रहरीको सवारी साधन पनि तोडफोड गर्न गरेका थिए ।
तुम्बाहाङफेका अनुसार तालाबन्दी गर्दा वडाध्यक्ष मणिराम श्रेष्ठ कार्यालयमै भए पनि कुनै प्रतिकार नगरिएको तर, फर्किएको अवस्थामा प्रहरी बोलाइएको आशङ्काले प्रदर्शनकारी आक्रोशित हुँदा सामान्य तोडफोड भएको हो ।
बिहान कार्यालय समय १० बजे वडा २ बाट सुरु गरिएको तालाबन्दी दिउँसो डेढ बजे सम्म चलेको थियो । आज शुक्रवार परेको र कार्यालयहरू बन्द हुने भएकोले अन्य वडाहरूमा आइतबारबाट तालाबन्दी अभियान चलाइने बताइएको छ ।  
चुम्लुङ केन्द्रीय सदस्य तुम्बाहाङफेले भने ‘वडा नम्बर २० बाहेक अन्य वडाहरूमा कोशी प्रदेश नाम खारेजीको माग सहितको तालाबन्दीलाई शान्तिपूर्ण साथ दिनु भएकामा वडा अध्यक्ष ज्युहरू, कर्मचारीहरूलाई लाई धन्यवाद दिन्छौँ ।’