धरान : उद्योग वाणिज्य महासङ्घको ५७ औँ साधारण सभा चैत २८ र २९ गते काठमान्डुमा हुँदैछ । यसपाली साधारण सभाले नयाँ नेतृत्वको चयन पनि गर्दैछ।
महासङ्घ भन्दा जेठो उद्योग वाणिज्य सङ्घको प्रतिनिधित्व भने अहिले सम्म केन्द्रीय समितिमा भएको छैन । यो विडम्बनाको अन्त्य गर्न यसपाली सुनसरीबाट केन्द्रीय सदस्यमा राजेन्द्र साहलाई उम्मेदवार बनाइएको छ ।
सङ्घका अध्यक्ष विजय श्रेष्ठले भने ‘देशभरका जिल्ला, नगर सङ्घहरूसँग हामीले यही कुरामा ध्यानाकर्षण गराउँदै केन्द्रीय सदस्यमा सुनसरीका उम्मेदवारलाई जिताएर अवसर दिन आव्हान गरेका छौँ ।’
पर्यटनको क्षेत्रमा सधैँ चर्चामा रहने धरान, सुनसरीको प्रतिनिधित्वको औचित्य प्रचार गर्न अहिले सम्म ४ वटा प्रदेशमा पुगिसकेको अध्यक्ष श्रेष्ठले बताए । भोलि देखी बाँकी ३ प्रदेश स्तरीय प्रचारमा सङ्घको टोली जाँदैछ ।
सुनसरीका राजेन्द्र साह महासङ्घ केन्द्रीय सदस्यमा जिल्ला, नगर सङ्घबाट उम्मेदवार छन् । सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष उनी कोसी प्रदेश सङ्घका पूर्व सदस्य पनि हुन् । 
जिल्ला, प्रदेशको अनुभव हासिल गरेका साहलाई जिल्ला, नगरको समस्या बुझेका उम्मेदवारको रूपमा लिइएकाले उनका जीत सुनिश्चित भएको अध्यक्ष श्रेष्ठले बताए ।
सुनसरी उद्योग वाणिज्य सङ्घ २०२० सालमा व्यापार प्रबन्ध समितिको नाममा स्थापना भएको हो । २०२२ तिर उद्योग वाणिज्य महासङ्घ स्थापना भएको हो । महासङ्घ भन्दा अघि स्थापना भएको सङ्घको उम्मेदवारीलाई यसपाली जिल्ला, नगर सङ्घहरूले सकारात्मक रूपमा लिएको उनको भनाई छ ।
महाधिवेशनको समापन सँगै २९ गते चुनावी कार्यक्रम छ । महासङ्घको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनेछन् । चुनावमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र  रामचन्द्र संघाईको प्यानल बिच प्रतिस्पर्धा हुने उद्योगी, व्यवसायीहरू बताउँछन् ।