इटहरी : पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनैतिक प्रणालीले कुनैपनी परिणाम दिन नसक्ने बताएका छन् । सुनसरीको इनरुवामा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलिय व्यवस्थाले देशलाई निकास दिन नसक्ने बताएका हुन् । 

पूर्व मन्त्री केशर बहादुर विष्टको संयोजकत्वमा आयोजित सभामा शाहले वर्तमान व्यवस्था माथि प्रश्न उठाएका छन् । नारायणहिटीबाट बहिर्गमन भएपछि पहिलो पटक सभालाई  औपचारिक सम्बोधन गरेका उनले  देशको मौलिक मूल्यमान्यता र स्वविमानलाई जीवन्त राख्नुपर्ने धारणा राखे । 

हामीलाई हाम्रो देश सधैँ प्यारो लाग्छ । आजको भेलाले यही गौरव र प्रेम प्रकट भएको छ । तपाईँहरूले दर्शाउनु भएको देश भक्तिको सम्मान गर्दछु । सही राज्य पद्धतिको सुरुवात शान्ति र अनुशासन बिना हुँदैन, उनले भने । 

कसैलाई लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भएको उनको आरोप छ । परिवर्तन देखाउन आलटाल र टालटुल प्रणालीले खँदिलो परिणाम नदिने उनको उद्घोष छ । राष्ट्रिय एकता को रक्षा गर्नु र सार्वभौमिकता जोगाउनु नै धर्म भएको शाहले बताए । व्यक्ति, परिवार, गुट र उपगुटमा अल्झिएर भन्दा पनि सुशासनको माध्यम बाट विकास गर्नुपर्ने बताए । 

इनरुवाको जेल फिल्डमा आयोजित सभामा हजारौँ राजावादीको उपस्थित रहेको थियो । नगर परिक्रमा गरेर अभिनन्दन गर्ने तयारी रहे पनि सुरक्षाको कारण देखाउँदै प्रशासनले रोक लगायो ।

raja-likhit-mantabya