इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ग्यालेक्सी फोर के टेलिभिजनले उनको बारेमा प्रसारण गरेको समाचारप्रति आपत्ति जनाएका छन् ।

टेलिभिजनमा मङ्गलवार साँझ मेयर पौडेलको सचिवालयमा दस जनालाई ऐन, नियम मिचेर मनोमानी ढङ्गले नियुक्ति गरी आर्थिक भार बढाएको समाचार प्रसारण भएको थियो । 

उक्त समाचार ‘भ्रम छरेर व्यक्तिगत रूपमा बदनाम गराउने ढङ्गले समाचार प्रसारण गरेको’ बताउँदै उनले आपत्ति जनाएका हुन् । मेयर पौडेलले आफ्नो एक जना स्वकीय सचिवबाहेक सचिवालयमा कोही नरहेको र उपमहानगरपालिकालाई चाहिने जनशक्ति विधि, प्रक्रिया र नियम अनुसार राखिएको बताएका छन् । 

मेयर पौडेलले फेसबुक लाइभ मार्फत समाचारप्रति आपत्ति जनाउँदै भनेका छन् ‘मानिसको प्रतिष्ठाको ख्याल गर्नुपर्छ, एक इन्च पनि विधि, प्रक्रिया र नियम मिचेको छैन ।’ नियम, ऐन मिचेर दस जना सचिवालयमा राखेको पुष्टि गर्न चुनौती दिँदै उनले साबित भएमा जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताएका छन् । 

उनले केही दिनअघि १२ औँ नगर सभा स्थगित भएको अवस्थामा १३६ औँ नगर सभा स्थगित भनी समाचार प्रसारण गरिएको र प्रसारण गरिएका कुनै पनि कुरा सत्य तथ्य नभएको बताएका छन् । मेयर पौडेलले सत्य र तथ्यका आधारमा पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

स्थानीय सरकारले स्थानीय आवश्यकताको पहिचान अनुसार सोही अनुसारको जनशक्ति र विज्ञ राख्न सक्ने बताउँदै उनले भनेका छन् ‘जे जे भएको छ, ती सबै कुरा कार्यपालिकाबाट निर्णय भएका छन्, मेयरप्रति राजनीतिक आधारमा पूर्वाग्रही भएर समाचार प्रसारण गरिएको छ ।’

Galaxy-PR