धरान : सङ्घीय सरकारले कोशी प्रदेश खारेजी, पुनः नामकरणको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु लाजेहाङलाई शहिद घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आज शुक्रवार बिहान बसेको बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । बैठकमा उपस्थित सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उक्त जानकारी दिएका छन् ।

उनले फेसबुकमा पनि लेखेका छन् 'कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बु (लाजेहाङ)लाई मन्त्रीपरिषद्बाट सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु । पदम लिम्बु  (लाजेहाङ) प्रति हार्दिक श्रद्धाञ्जली, वीर सहिद अमर रहन' ।

लाजेहाङ चैत ५ गते विराटनगरमा आयोजित आन्दोलनको बृहत् प्रदर्शनमा घाइते भएका थिए । लाजेहाङलाई चैत ९ गते बेहोस भएको अवस्थामा बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको थियो । चैत १० गते बेहोस अवस्थामा नै उनको निधन भएको हो ।

धरान-१५ मा बसोबास गर्दै आएका ४२ वर्षीय लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए । लाजेहाङ छत्रबहादुर लिम्बुका छोरा हुन । उनी २०५२ देखी लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।