धरान : सङ्घीय सरकारले कोशी प्रदेश नाम खारेजी, पुनः नामाङ्कनको आन्दोलनमा शहादत प्राप्त गरेका लाजेहाङ पदम लिम्बुलाई शहिद घोषणा गर्ने निर्णय गरे तापनि औपचारिक घोषणापछि मात्र उनको अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।

आन्दोलनका प्रमुख घटक सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरी जिल्ला अध्यक्ष अमर इजमका अनुसार संयुक्त सङ्घर्ष समिति मन्त्री परिषद्को शहिद घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित गरी औपचारिक घोषणाको प्रतीक्षामा रहेको बताए ।

उनले भने ‘सरकारको निर्णयको आधिकारिक पत्र पनि संयुक्त सङ्घर्ष समितिलाई प्राप्त भएको छैन ।’ आधिकारिक शहिद घोषणा भएपछि मात्र लाजेहाङको अन्तिम संस्कार गर्ने प्रक्रिया गरिने बताउँदै उनले थपे ‘सङ्घर्ष समितिको पुनः नामकरणको आन्दोलन बाँकी नै छ ।’

लाजेहाङको शव १६ दिन देखी धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा छ। संयुक्त सङ्घर्ष समितिले लाजेहाङको मृत्यु लगत्तै आन्दोलनको माग थप गरी उनलाई सरकारद्वारा शहिद घोषणा नगरिए सम्म शव जिम्मा नलिने घोषणा गरेको थियो ।

लाजेहाङ चैत ५ गते विराटनगरमा आयोजित आन्दोलनको बृहत् प्रदर्शनमा घाइते भएका थिए । उनलाई चैत ९ गते बेहोस अवस्थामा बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको थियो । चैत १० गते बेहोस अवस्थामा नै उनको निधन भएको थियो ।

मन्त्रिपरिषद्को हिजो शुक्रवार बिहान बसेको बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । बैठकमा उपस्थित सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उक्त जानकारी दिएका हुन् ।

४२ वर्षीय लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए । लाजेहाङ छत्रबहादुर लिम्बुका छोरा हुन । उनी २०५२ देखी लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।