धरान  : एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता स्थानीय पञ्जिकाधिकारीले आमाको थर र स्थायी ठेगाना राखी गरिदिने नयाँ व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्रलाई सच्याएर आइतबार स्थानीय पञ्जिकाधिकारीहरुलाई जारी गरेको परिपत्रमा नयाँ निर्देशन दिएको हो ।

यसअघि एकल महिलाको विवाह नभई जन्मेको, बाबुको पहिचान नखुलेको बच्चा सहित विवाह गरेर पति सँगै बसेकी भए उक्त बच्चाको मावलीको थर राखी जन्म दर्ता गर्ने निर्देशन दिएको थियो ।

नयाँ परिपत्रमा भनिएको छ ‘एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गरिदिने ।’ नयाँ निर्देशन दिएको छ ।

‘विवाह अघि बच्चा जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानमा जन्म दर्ता गरिदिने’ परिपत्रमा भनिएको छ ।

विभागको नयाँ परिपत्रमा ‘एकल महिलाबाट जन्म भएका बच्चाको आमाले विवाह गरेको अवस्थामा त्यस्ता बच्चाको जन्म दर्ता गर्ने स्थान र थरको विषयमा द्विविधा उत्पन्न भई थप स्पष्ट गरिदिन स्थानीय तहहरूबाट अनुरोध आएको’ उल्लेख छ ।

बच्चाको जन्मदिने आमाको भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक संरक्षण गर्न नयाँ व्यवस्था गरिएको बताइएको छ ।

यसअघिको परिपत्रमा ‘विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल आमाले विवाह गरी बच्चा सहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने’ भनिएको थियो ।