वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.२ मा रहेको चतरा अस्पतालले ५० औँ वार्षिकोत्सव एवम् स्वर्ण जयन्ती मनाएको छ। २०२९ साल साउन २५ गते इलाका स्वास्थ्य चौकीको रूपमा स्थापना भएको हालको चतरा अस्पतालले स्वर्ण जयन्ती कार्यक्रम गरेको हो ।

बुधवार आयोजना भएको कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौला प्रमुख अतिथि रहेका थिए। अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि बसौलाले अस्पतालले देशकै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा गराएर जनताको स्वास्थ्य सेवाको अधिकारलाई प्रत्याभूति गराउन सफल भएको बताए ।

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन चतरा अस्पतालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै बसौलाले चतरा अस्पतालबाट देशभरका स्वास्थ्य संस्थाले सिको गर्नुपर्ने बताए।

वडा नं.२ लाई देशकै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त बनाएको अस्पताले वडा नं.१ लाई समेत पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा गराउने योजनालाई सफल बनाउन शुभकामना दिएका थिए । कार्यक्रम विशिष्ट अतिथि वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले नगरवासीलाई उपलब्ध गराउने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिका लागि परेको बताए ।

नगर प्रमुख कार्कीले भने 'नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाको विकास र स्तरोन्नति गर्न नगरपालिकाले योजना बनाएर काम गरिरहेको छ ।' नगरपालिकाको विकास र जनताको चाहना अनुसार नगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी तथा धार्मिक क्षेत्रमा काम गर्दै आएकाले समृद्धि नगरपालिका बनाउन लागि परेको नगर प्रमुख कार्कीले बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार, बिपी आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल गुरागाईँ, नेकपा एमालेका कोशी प्रदेश सदस्य मनोज पौडेल लगाएले शुभकामना मन्तव्य राखेका थिए । अस्पतालका व्यवस्थापन समितिका सदस्य प्रह्लाद भट्टराईले सञ्चालन गरेको कार्यक्रममा अस्पतालका प्रबन्धक डाक्टर अनिल गरिले अस्पतालको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अस्पतालका पूर्व अध्यक्षहरू, सल्लाहकार, पूर्व कार्यालय प्रमुखहरू, निवर्तमान सल्लाहकार र व्यवस्थापन समिति सदस्यहरू, सहयोगी चन्दादाताहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको थियो । अस्पतालका व्यवस्थापन समितिका होमप्रसाद गौतमको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा उपाध्यक्ष युवराज भट्टराईले स्वागत मन्तव्य राखेका थिए।

२०७५ सालको भदौ १ गतेदेखि बर्षकै ३६५ दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको चतरा अस्पतालमा सुनसरी सहित उदयपुर, धनकुटा र भोजपुरका सेवाग्राहीहरू आउने गर्दछ ।

हालको चतरा अस्पताल २०५६ सालको माघ २१ गते प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति र २०७८ सालमा १५ सैय्याको चतरा अस्पतालको रूपमा घोषणा भएको थियो ।