चतरा : वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई १५ शैयाको चतरा अस्पतालको रूपमा स्तरोन्नति गरिएको छ। २०२९ असार १५ गते इलाका स्वास्थ्य चौकीको रूपमा स्थापित उक्त स्वास्थ्य केन्द्रलाई वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले मङ्गलवार अस्पतालको बनेको घोषणा गरेका थिए।

व्यवस्थापन समितिको सिफारिस र नगर कार्यपालिको निर्णय अनुसार चतरा अस्पताल घोषणा गरिएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले बताए।

नव घोषित चतरा अस्पतालले हाल सार्वजनिक बिदा र शनिवार समेत “ बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म चिकित्सकद्वारा नि शुल्क ओपिडी सेवा” र “चिकित्सक द्वारा आकस्मिक सेवा” लगायतका बहिरङ्ग सेवा दिँदै आइरहेको छ।

२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, प्रसूति, फिजोयोथेरापी सेवा, हरेक दिन आँखा, कान, दन्त उपचार, हरेक सोमबार र बिहीबार भिडियो एक्स-रे, हरेक दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ, वार्ड भर्नासँगै सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

मङ्गलवार चतरा अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि खनालले शिलालेख अनावरण गर्दै अस्पतालको रूप दिएको घोषणा गरेका थिए । वराहक्षेत्र नगरपालिका वडा नं २ का अध्यक्ष तथा व्यवस्थापन समिति अध्यक्ष हरिकृष्ण भट्टराईको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा सल्लाहकार समिति सदस्य सीता भण्डारी पौडेलले स्वागत मन्तव्य गरेकी थिइन् ।

अस्पतालका व्यवस्थापन डाक्टर अनिल गिरिले सञ्चालन गरेको उक्त कार्यक्रममा व्यवस्थापन समिति सदस्य प्रह्लाद भट्टराई, जनता समाजवादी पार्टी वराहक्षेत्र २ का अध्यक्ष दिलीप राई, माओवादी केन्द्र वराहक्षेत्र १ का अध्यक्ष रञ्जित लोहनी, नेपाली काँग्रेस वराहक्षेत्र १ का सभापति ईश्वर थापा, नेकपा एमाले वराहक्षेत्र १ का अध्यक्ष कृष्ण कटेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाई लगाएले शुभकामना मन्तव्य राखेका थिए ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पताल बनाउने योजना पूरा भएसँगै वराहक्षेत्र १ र २ बडालाई पूर्ण स्वास्थ्य बिमा युक्त क्षेत्र बनाउने योजनाका अस्पतालको रहेको व्यवस्थापन डाक्टर गिरिले बताए । उनका अनुसार वराहक्षेत्र वडा नं २ को कार्यलयसंग समन्वय गरेर देशकै पहिलो स्वास्थ्य बिमा युक्त वडा घोषणाको अन्तिम तयारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चतराको रहेको छ । २०६८ सालको जनगणना अनुसार ६ हजार ४ सय ९६ जनसङ्ख्या रहेको वडामा हाल सम्म ६ हजार १ सय ६८ जनाले स्वास्थ्य बिमा गरेका छन् । ९४ दशमलव ८९ प्रतिशतले बिमा गरेको तथ्याङ्क रहेको वडामा १ हजार ७ सय २७ परिवारले बिमाको काड छ। 

स्वास्थ्य केन्द्रमा दैनिक करिब २ सय भन्दा बढी सेवाग्राही आउने गरेका छन् । प्राय मौसमी रोगका बिरामीहरू सेवा लिन आउने गर्छन् । ज्वरो, रुघा खोकी, तथा छाला रोगीका बिरामीहरू आउने गर्छन् ।

२४ सै घण्टा उपचार सेवा दिँदै आएको अस्पतालमा ११ जनाको सरकारी दरबन्दीले नपुगेपछि समितिको श्रोतबाट ३४ जना , नगरपालिकाबाट २ जना गरी ४७ जनशक्ति रहेका छन् । वराहक्षेत्र २ स्वास्थ्य सेवामा नमुना वडा रहेको अध्यक्ष तथा व्यवस्थापन समिति अध्यक्ष हरिकृष्ण भट्टराईले बताए।