धरान : नेकपा एमालेको धरान उपमहानगर अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेकै आधारमा उक्त पार्टीका पूर्व निर्वाचित वडाध्यक्ष कार्वाहीमा परेका छन् ।

पार्टीको अधिवेशन आज र भोलि चुम्लुङ हिममा हुँदैछ । अधिवेशनले एमालेको नयाँ नेतृत्वको निर्वाचन पनि गर्ने कार्यक्रम छ ।

एमालेबाट अघिल्लो चुनावमा धरान–९ मा निर्वाचित पूर्व वडाध्यक्ष रत्न कटुवालले एमाले नगरको निर्वाचनमा भाग लिन बञ्चित गराउन आफुलाई कार्वाही गरिएको बताएका हुन् ।

आज मगलबार बिहान पत्रकार सम्मेलन गर्दै कटुवालले भने ‘बैशाख ३ गते सम्म पार्टिका सम्पूर्ण कार्यक्रममा बोलाईएको पार्टी नवीकरण गर्दै लेबि पनि बुझाएको तर नगर अध्यक्षमा उम्मेदवार घोषणा गरेपछि एकाएक कारबाहीको खबर आएको छ ।’

उनले भने ‘म अधिवेशनमा सहभागी हुन जाने छु ।’ पार्टी  भित्रको बेथिति विरुद्ध लडेर जाने र एकल निर्णयको बन्दी रहेको धरानलाई सवक सिकाउन आफूले अधिवेशनमा जाने निर्णय गरेको बताए ।

उनले ‘पार्टीले कार्वाही गरेको भए किन २०८० चैत्र मसान्त सम्मको नवीकरण गरेको सदस्यता प्रमाणिकरण जिल्ला कमिटिले गरेर पठाएको ?’ भनी प्रश्न गर्दै यसले धरानमा एकल निर्णय हावी भएको पुष्टि गरेको दाबी गरे ।

उनले धरानमा एमाले एकल निर्णयका कारण अब एमालेको दिन गन्ती सुरु भएको बताए । भने ‘एमाले औलामा गन्दा पनि भेटिने छैन् ।’