धरान : राज्यले सहिद घोषणा गरेको लाजेहाङप्रति श्रद्धाञ्जली चढाउन आयोजित शवयात्रामा कोशी प्रदेश सरकारबाट भएको लज्जास्पद हस्तक्षेपको  भएको छ । प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले निन्दा, भर्त्सना गरेको छ । 

विराटनगरको रोडशेष चौकमा चैत ५ गते भएको भएको प्रदर्शनमा घाइते भएका लाजेहाङको शव श्रद्धाञ्जली सभा गर्न हिजो शनिवार सोही ठाउँमा शवयात्रा पुग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । घट्नामा दर्जन मलामी घाइते भएका छन् । 

घटना लगत्तै सङ्घर्ष समितिले वक्तव्य जारी गर्दै भनेको छ ‘शवयात्रा गरिरहेको अवस्थामा विराटनगर रोडशेषमा पुग्दा प्रहरीले एक्कासि अवरोध गरी घरका छतबाट दर्जनौँ रबरका गोली र सयौँ अश्रुग्याँस सेलहरू प्रहार गरी मलामीहरूलाई घाइते बनाएको साथै मृत्यु संस्कार कर्म गर्नमा पुराएको अवरोधप्रति खेद व्यक्त गर्दै तीव्र निन्दा गर्दछौँ ।’

नेपालको सङ्घीयता कार्यान्वयन पछिको पहिलो पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’को अन्त्येष्टि संस्कार खातिर शवयात्रा गर्ने समय र प्रक्रिया बारेमा प्रहरी प्रशासनसँग समन्वय साथै पूर्व जानकारी गराई शवयात्रा गरिएको अवस्थामा लज्जाजनक हस्तक्षेप भएको वक्तव्यमा उल्लेख गरिएको छ । 

शवयात्रामा सहभागी निहत्था मलामीहरूमाथि प्रहरीले अन्धाधुन्ध रबरका गोली र अश्रुग्याँस प्रहार गर्दा किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष देवान राईको टाउकोमा चोट, इटहरीकी दया राईको खुट्टोमा गम्भीर घाउ, किरात याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेनको ढाडमा चोट लागेको जनाइएको छ ।

यसैगरी इटहरीका डेनिज राईको हात फ्रयाक्चर, राजकुमार सेर्माको खुट्टोमा गहिरो घाउचोट, विराटनगरका चन्द्रकुमार राईको खुट्टोमा गम्भीर घाउ, मनिता याक्खा, ताप्लेजुङका मोमु केछाङ, खगेन याक्खा लगायतलाई गम्भीर घाउचोट लागेर उनीहरू उपचारको क्रममा रहेको जानकारी दिइएको छ ।  

वक्तव्यमा भनिएको छ ‘सरकार स्वयंले सहिद घोषणा गरेको सहिद लाजेहाङको शवयात्रा जस्तो मृत्यु संस्कारमा प्रहरीले गरेको नृशंस आक्रमण र निहत्था मलामीमाथि घरका छतमाथिबाट रबरका गोली र अश्रुग्याँसले आक्रमण गर्नु गम्भीर मानवअधिकार उलङ्घनको कुकृत्य भएकाले यसमा मानवअधिकारकर्मीहरू लाई छानबिनका लागि संयुक्त सङ्घर्ष समितिले ध्यानाकर्षण गराएको छ ।

BRT-andalon-PR-80-01