विराटनगर : नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् ।विराटनगर-११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको बताए ।

“यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ,” नेता कोइरालाले भने, “आर्थिक रूपमा समेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको छ ।” नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुन सक्ने चेतावनीसमेत दिए ।

उनले ज्येष्ठ नागरिकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको समेत चर्चा गरे । ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो । “ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई समाजले अनुसरण गरे पक्कै पनि समाज समृद्धि हुनेछ,” कोइरालाले भने, “राज्यले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण पनि गर्नुपर्छ ।”

त्यस्तै कोशी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री केदार कार्कीले पुस्तान्तरण भए मात्रै ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप नयाँ पुस्ताले ग्रहण गर्ने बताए । उनले पुस्तान्तरण हुनु जरुरी रहेको सुनाए । अघिल्लो पुस्ताले प्राप्त गरेका ज्ञान र अनुभव युवापुस्ताले ग्रहण नगर्ने गरेको उनको भनाइ थियो ।