इटहरी : नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले गाउँ रित्तो हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गाउँमा राम्रो विद्यालय र पिउने पानीको अभाव देखाउँदै बसाइसराइ बढ्दै गएकोमा दुःख व्यक्त गरे ।
कोशी प्रदेशसभाको काँग्रेस प्रमुख सचेतक समेत रहेका राई खोटाङबाट प्रदेश निर्वाचन क्षेत्र (२)बाट निर्वाचित सांसद हुन् । २०७८ को जनगणना अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी बसाइसराइ हुने जिल्लामा पर्छ खोटाङ ।
गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीको व्यवस्था गर्नुपर्ने भन्दै ऊनी अग्रसर हुँदै आएका छन् । नेपाल सरकार बजेट बनाउने काममा व्यस्त भएको बेला गाउँमा बसाइँ सर्नेको लर्को लाग्न थालेको गुनासो गरे । 
सामाजिक सञ्जालमा एक अनुभव सेयर गर्दै राईले दुःख व्यक्त गरेका छन् । "बिहानै गाउँबाट राजकुमार भाइको फोन आयो । "दाइ हामी त तराई तिर जाने भयौँ । पुरानो काठ पात कसरी लैजाने ? खाटहरू लान पाइन्छ कि  पाइँदैन होला ?" म एक छिन भावुक भएँ । 
पिउने पानी, कालोपत्रे सडक र राम्रो विद्यालयको खोजीमा आफ्नो घर, रोपनीका रोपनी जग्गा जमिन छोडेर बसाई सर्नेको लर्को छ गाउँमा ।
नेपाल सरकार यति नै बेला बजेट बनाउन व्यस्त छ । आफ्नो जिल्ला, गाउँघर तीर बजेट माग्नका लागी जनप्रतिनिधि, राजनीतिकर्मी र समाजसेवीहरू सिंहदरबार केन्द्रित छन् । जसको कारण यतिबेला सिंहदरबार बसपार्क जस्तो भएको छ । मलाई विश्वास छ यो बजेट गाउँ केन्द्रित हुनेछ । कम विकास भएको जिल्ला र भूगोललाई केन्द्रमा राखेर बजेट निर्माण हुनेछ ।"