धरान : नेपाली काँग्रेसले अब अहिलेको जस्तो परम्परागत ढङ्गले मुलुकमा देखापरेका नयाँ चुनौतीको सामना र नेतृत्व गर्न नसक्ने भएकाले पार्टी पुरै नयाँ ढाँचामा पूनःसंरचना गर्नुपर्ने आवश्यकता बढेकोमा काँग्रेसका बुद्धिजीवीहरूले जोड दिएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य एवं लोकतन्त्रवादी बुद्धिजीवीहरूको संस्था सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रका केन्द्रीय अध्यक्ष मधु आचार्यले भने ‘काँग्रेसलाई अब नयाँ ढाँचामा पूनसंरचना नगरी मुलुक र लोकतन्त्रमा देखिएका नयाँ चुनौतीहरूलाई सामना गर्न सक्तैन ।’

केन्द्रको सुनसरी जिल्ला समितिद्वारा बिहीबार धरान मोडल कलेजको हलमा आयोजित अन्तरकृयामा उनले पछिल्लो चुनावी नतिजाहरूले देखाएको नेपाली समाजको प्रवृत्ति परिवर्तन, पार्टीको सङ्गठनात्मक ढाँचामा आएको अराजकता, आम कार्यकता, जनतासँग नेतृत्व तहको सम्पर्क टुटेको कारण काङ्ग्रेसप्रति वितृष्णा बढेको बताए ।

उनले नयाँ चुनौतीहरू सम्हाल्न काँग्रेसलाई तत्काल नयाँ नेतृत्वको आवश्यकता भएको बताउँदै आचार्यले भने ‘काँग्रेस केन्द्रीय समितिको तत्काल बैठक बालाई सभापति शेरबहादुर देउवाले पार्टीको नयाँ नेतृत्वको प्रस्ताव आफैले गर्नुपर्छ ।’ त्यसो नभए केन्द्रीय सदस्यहरूको एक टिमलाई सभापतिले त्यो कार्यको जिम्मेवारी दिनुपर्न उनको भनाई छ ।

यो परम्परा काँग्रेसमा रहँदै आएको उनले बताए । काँग्रेसमा वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालले पार्टी शिथिल भएको अवस्थामा नयाँ गति प्रदान गर्न आफू पछि हटेर भावि नेतृत्वको प्रस्ताव आफै ल्याउने गरेको उनको भनाई थियो ।

काँग्रेसको प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशकको दायित्व पनि सम्हाली सकेको आचार्यले वीपी कोइरालाले देखेको नेपाली समाज र प्रवृत्तिमा अहिले ठुलो परिवर्तन आएको बताउँदै तर, राज्य र पार्टीहरूले पनि सामाजिक अवस्थाको अध्ययन अनुसन्धान गर्ने चलन नेपालमा नभएको बताए ।

काँग्रेसले नेपाली समाजको वदलिँदो अवस्था र प्रवृत्तिको अध्ययन अनुसन्धान गरेर त्यसै आधारमा पार्टीको आर्थिक, सामाजिक, राजनीतिक र पार्टी सङ्गठनको नीति तथा कार्यक्रम तर्जुमा गर्न जरुरी भएको बताए ।

उनले उदाहरणको रूपमा उपनिर्वाचनमा तनहुँमा चुनावी पराजयलाई काँग्रेसले कुन रूपमा लिने प्रश्न गर्दै भने ‘त्यसलाई उम्मेदवार गोविन्द भट्टराईको अलोकप्रियताको कारण चुनाव हारेको मान्न सकिन्छ ? कि काङ्ग्रेसप्रति जनताको वितृष्णाले पराजय भयो भन्ने अर्थमा लिने ? कि गठबन्धनको पराजयको पराजय कसरी भयो भनेर लिने कि ?’

पराजयका कुनै पनि कारणमा किन ? भन्ने प्रश्न विद्यमान हुने त्यसका बारेमा अध्ययन र अनुसन्धान नभए सम्म बनाइने नीति कार्यक्रम वैज्ञानिक नहुने बताउँदै उनले भने ‘पार्टीले त्यस्तो अध्ययन अनुसन्धानको काम छुट्टै स्वतन्त्र अनुसन्धान संस्था टोलीबाट गराउनु पर्दछ ।’

पछिल्लो समय गाउँ शहरबाट आम नेपालीका युवाहरू पढाईको निहुँमा, वैदेशीक रोजगारीका लागि विदेश जाने सङ्ख्या बढेको छ । त्यसबाट आम नेपाली समाजीक अवस्था, मनस्थिति र प्रवकृतिमा ठुलो परिवर्त आएको बताउँदै उनले भने ‘विदेशीए पनि अहिले राजनीतिमा पनि उनीहरूको हस्तक्षेप बढेको पाइन्छ ।’

अन्तरकृयामा पूर्व कोशी प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले नेपाली काँग्रेसमा अब चामत्कारीक आकर्षण ल्याउन भ्रष्टाचारबाट टाढा रहेका, नयाँ र पुराना पुस्तामा मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने विश्वास जगाउन सक्ने नेतृत्वलाई अघि ल्याउनु जरुरी भएको बताए ।

केन्द्रका सुनसरी अध्यक्ष डा.आनन्द आचार्यको सभापतित्वमा भएको अन्तरकृयामा पूर्व प्रदेशसभा सांसद नवेदिता चौधरी, लोकतान्त्रिक विचार मञ्चका अध्यक्ष यामनाथ बराल, श्यामा रेग्मी, अधिवक्ता रमेश भट्टराई, प्रा.डा.गोपालप्रसाद भण्डारी, भिष्मराज काफ्ले, पुष्पराज ढकाल, प्राध्यापक अशोक झा, गोविन्द बस्तेत लगायतले आफ्ना धारणा, सुझाव राखेका थिए ।