धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कुलपति तथा मुटु, मिर्गौला रोग विशेषज्ञ प्राध्यापक डा.सञ्जीव शर्माले धरानमा युवा अवस्थामै मधुमेहको शिकायत देखापर्नेहरु बढेको बताएका छन् ।

यातायात मजदुरहरूका लागि धरानमा आयोजित स्वास्थ्य परीक्षण शिविरमा आएका युवा अवस्थाका धेरैमा मधुमेहको शिकायत पाइएको उनले बताएका हुन् । शिविरमा कुल २ सय ९ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

त्यस मध्ये झण्डै आधामा मधुमेहको शिकायत पाइएको उनले बताए । डा.शर्माका अनुसार शिविरमा आएका २५ जनाको मुटुको परीक्षण पनि गरिएको छ । शिविरमा उनीहरूको इको तथा ईसिजि गरिएको थियो । थप परीक्षणका लागि ४ जनालाई वीपी प्रतिष्ठानमा बोलाइएको छ ।

शुल्क स्वास्थ्य परीक्षण शिविर यातायात व्यवसायी, ट्राफिक प्रहरी, मजदुर सङ्घ, सङ्गठनहरूको संयुक्त आयोजनामा भएको हो । शिविरमा स्वास्थ्य सम्बन्धी संस्था केएचडिसीका चिकित्सक तथा प्राविधिकहरूले सहयोग गरेका थिए ।

नेपाल यातायात व्यवसायी महासङ्घ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठका अनुसार दिनरात सवारीको ड्युटीमा हिँड्ने मजदुरहरूमा स्वास्थ्यको संवेदनशीलता तथा सचेतना बढाउन उनीहरूकै लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।