धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुक मार्फत पत्रकार र सञ्चार माध्यमलाई अमर्यादित शब्द प्रयोग गरी गालीगलौज गर्दै देखाएको प्रेस स्वतन्त्रता विरोधी रवैया चिन्ताको विषय बनेको आज विश्व प्रेस स्वतन्त्रता दिवसमा आयोजित अन्तरक्रियाका सहभागीहरूले बताएका छन् ।

प्रेस स्वतन्त्रता बिना लोकतान्त्रिक शासन व्यवस्थाको कल्पना गर्न सकिन्न । मेयर साम्पाङको व्यवहारले धरानको स्वतन्त्र पत्रकारिता स्थानिय सरकारबाटै खतरामा परेको उनीहरूले बताए । पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले मेयर हर्क साम्पाङलाई आफ्नो पक्षमा गुणगान र भक्तिगान गाउने मात्र पत्रकार भन्ने बुझाइरहेको बताए ।

उनले भने ‘मेयर साम्पाङ हावा हुन, उनी चुनाव जित्छु र केही गर्छु भनेर आएकै होइनन् ।’ साम्पाङलाई प्रेस स्वतन्त्रताप्रति स्थानिय सरकारको दायित्व केही थाहा नभएकाले अमर्यादित शब्दमा गालीगलौजमा उत्रिएको उनको भनाई थियो । घिमिरेले भने ‘इनरुवा र धरानका मेयरको रवैयाले  सुनसरीका पत्रकारिता अहिले अप्ठ्यारो स्थितिमा रहेको छ ।’

राजनीतिक दलहरूले धरानका मेयर साम्पाङलाई ‘नत्थी’ लगाउन सक्ने बताउँदै पार्टीहरूकै कमी कमजोरीका कारण साम्पाङले चुनाव जितेको हुनाले अब पार्टीहरू आफ्नो गल्ती, कमजोरीको जिम्मा लिन्छौ भनेर जनता माझ जानुपर्ने कुरामा जोड दिए ।

ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोर कार्कीले प्रेस स्वतन्त्रता बिना लोकतान्त्रिक शासन व्यवस्थाको कल्पना गर्न नसकिने बताउँदै भने ‘मेयर साम्पाङको पत्रकारप्रति व्यवहार निरङ्कुश शैलीको छ ।’ उनले गरेको अनियमित र विधि, प्रक्रिया विपरीतका कामको निगरानी गर्ने पत्रिका र पत्रकारलाई गालीगलौज गर्ने कार्य बन्द गराउन पत्रकार महासङ्घले दबाब दिनुपर्नेमा जोड दिए ।

महासङ्घको पूर्व केन्द्रीय उपाध्यक्ष हर्ष सुब्बाले स्थानिय सरकारले ऐन बनाएर स्वतन्त्र पत्रकारिताको रक्षा गर्नु पर्नेमा सरकार प्रमुख मेयर आफै स्थानिय स्वतन्त्र प्रेसको विरोधी देखिनु दुर्भाग्य पूर्ण भएको बताउँदै भने ‘स्थानिय सरकार धरान उपमहानगरपालिकाले पत्रकारहरूको सुरक्षा र पत्रकारिताको संवर्द्धन गर्ने लिखित प्रतिबद्धता जनाउनु पर्दछ ।’

मेयर साम्पाङ सँग यसअघि अनौपचारिक भेटमा उक्त माग राखिएको बताउँदै उनले केही समय सुधार देखिएता पनि पछिल्लो समय मेयरको व्यवहारले उनका अनुयायी, समर्थकहरूबाट पत्रकारहरूले असुरक्षित अनुभव गर्न थालेको बताए । उनले भने ‘यस बारेमा पत्रकार महासङ्घले चासो लिनु पर्दछ ।’ 

अन्तरक्रियामा धरानका राजनैतिक दलका नेताहरूले स्वतन्त्र पत्रकारीताका लागि दलहरू महासङ्घसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउँदै मेयर हर्क साम्पाङले विधि, प्रक्रिया उल्लङ्घन गर्दै निरङ्कुश शासन चलाएको बारेमा लेख्न डराउन नहुने कुरामा जोड दिए ।

नेपाली काँग्रेसका नगर सभापति श्याम पोख्रेलले मेयर साम्पाङले प्रेस स्वतन्त्रता विरुद्ध अभिव्यक्ति दिइरहेको तर पत्रकारहरूले खुलेर त्यस विरुद्ध आवाज उठाउन नसकेको बताउँदै भने ‘प्रेस माथि भएको आक्रमण निन्दनीय भएको, त्यसले पत्रकारिता पेसा खतरा रहेको देखिएको छ ।’

पत्रकारले दोहोरो संवाद गर्न नपाउनु एकोहोरो सूचना सम्प्रेषण मात्र गर्नु निरङ्कुश शासनको शैली भएको बताउँदै उनले भने ‘धरान खानेपानी बोर्डको बैठक बस्न नबसेको १ वर्ष भयो किन बस्न सकिरहेको छैन आम जनमानसमा ल्याउनु प¥यो जनतालाई सुसूचित गर्न पत्रकार डराउन हुँदैन ।’

नेकपा एमाले धरान उपाध्यक्ष पारस काङमाङले भने ‘मेयर साम्पाङ फेसबुकमा भाइरल हुन मात्र पाइप ढुङ्गा बाकेको हो जनताको  सेन्टीमेन्टल क्याच गरेर भाइरल भएर मात्र हुँदैन ।’ मेयर भनेको नियम, कानुन, विधि र प्रक्रिया बनाउने जिम्मेवार पद भएको बताउँदै उनले मेयर साम्पाङले उल्टै त्यसको धज्जी उडाएको बताए ।

काङमाङले पत्रकारहरूलाई दोहोरो प्रश्न गर्न जरुरी भएकोमा जोड दिँदै भने ‘प्रमाण, स्रोत बटुलेर प्रश्न गर्न मेयर साम्पाङसंग जानु पर्‍यो एकोहोरो व्यक्तिगत रूपमा जाने होइन ।’ उनले राजनैतिक दल संस्था भएकोले दलको पछाडि लाग्नेलाई कार्यकर्ता भनिन्छ व्यक्तिको पछाडि लाग्नेलाई चैँ झोले भनिन्छ भन्ने कुरा मेयर साम्पाङले बुझ्न आग्रह गरे ।

नेकपा माओवादी धरान इन्चार्ज चोत्लुङले पत्रकारिता सत्यको अन्वेषण गर्ने पत्रकार र एकोहोरो प्रचार गर्ने प्रचारकर्ता दुई किसिमको रहेको बताउँदै भने ‘मेयर सम्पाङको प्रचारकर्ता चैँ झोले हो ।’ पत्रकार आफै स्वतन्त्र हुन्छ । उनीहरूलाई कुन पार्टीको पत्रकार हो भनेर सोध्नु मूर्खता भएको उनको भनाई थियो ।

उनले प्रधानमन्त्री वा प्रमुखले बोलेको कुरा सरकारको भाषा हुने बताउँदै प्रश्न गरे धरानको स्थानीय सरकारको पत्रकारीताप्रतिको धारणा के हो सार्वजनिक हुन जरुरी भएको बताए ।

जसपा अध्यक्ष ताजुव लिम्बुले मेयर साम्पाङको गलत कामहरूबारे पत्रकारहरू मौन बसेको बताउँदै भने ‘साम्पाङको गलत कार्यका विरोध गर्न नसकेका पत्रकारहरूलाई नै प्रश्न सोध्दा कुन पार्टी पत्रकार, झोले पत्रकार भनेर सोध्नु अपमान जनक हो ।’ स्वतन्त्र प्रेस विरोधी यस्तो व्यवहार र अभिव्यक्तिको पत्रकारहरूले विरोध गर्न जरुरी भएको उनले बताए ।  

अमरहाट स्थित पत्रकार महासङ्घको भवनमा भएको अन्तरक्रियाका प्रमुख अतिथि उपप्रमुख आईन्द्र विक्रम बेघा थिए । उनी बिचैमा आफ्ना भनाई राखेर हिँडेका थिए । कार्यक्रम महासङ्घ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको सभापतित्वमा भएको थियो । सञ्चालन सचिव ध्रुव ढकालले गरेका थिए ।