धरान : धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघाले आज मङ्गलवार मेयर हर्क साम्पाङलाई वडा अध्यक्षहरूको जायज मागलाई सम्बोधन गरी ‘डेडलक’लाई निकास दिनुपर्ने सार्वजनिक रूपमा आग्रह गरेका छन् ।

मेयर साम्पाङ र वडाध्यक्षहरूको बिचको विवादले कार्यपालिका बैठक बस्न नसकेको दुई महिना पुग्न लाग्यो । दुई पक्षको विवादकै पृष्ठभूमिमा हिजो सोमवार वडा १७ कार्यालयमा हुलहुज्जतको घटना भएपछि उपमेयरले ‘जटिल परिस्थिति’ सिर्जना भएको भन्दै वक्तव्य जारी गरेका हुन् ।

वडा १७ कार्यालयमा भएको घटना खेदजनक र दुःखद भएको र उक्त घटना मेयर साम्पाङ र वडाध्यक्षहरू बिचको विवादकै ‘उदाहरण’ भएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ ‘वडा अध्यक्ष ज्युहरूले राख्नु भएका जायज मागहरूलाई सम्बोधन गरी कार्यपालिका बैठक तुरुन्त राख्न पहल गर्नु पर्ने देखिन्छ ।’

वडा १७ कार्यालयमा मेयर हर्क साम्पाङ पक्षकाले हुलहुज्जत गरेकोमा प्रहरीले धरान-१७ का ३ जना गोविन्द श्रेष्ठ, लाक्पा तेञ्जिङ शेर्पा र ललित राईलाई पक्राउ गरेको थियो ।

आज दिउँसो उनीहरूलाई छुटाउन मेयर पक्षका समूह र कारबाही अघि बढाउन माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि भेला भएका थिए । हुलहुज्जत गर्नेहरूलाई कारबाहीको माग गर्दै त्यहाँ मेयर हर्क साम्पाङ विरुद्ध नाराबाजी समेत गरिएको थियो ।