इनरुवा : नेपाल पत्रकार महासङ्घ सुनसरीले पत्रकारहरू अनुरक्षीत भएकाले शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मार्फत सङ्घीय गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज शुक्रवार ज्ञापनपत्र बुझाएका छन् । 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबाट भएका पत्रकार र सञ्चार माध्यमलाई अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषाको प्रयोग गरी प्रेस स्वतन्त्रता विरोधी गतिविधिले पत्रकारहरू असुरक्षित भएको भन्दै गृहमन्त्री समक्ष महासङ्घको सुनसरी शाखाले शान्ति सुरक्षाको माग गरेको हो ।  

ज्ञापनपत्र हस्तान्तरण गर्दै महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले मेयर साम्पाङको फेसबुक पेज ‘हर्क साम्पाङ ए रिभ्युलेशन’मा गालीगलौज र धम्कीका भाषामा  स्टाटसहरु राखिने र त्यसमा उनका समर्थकहरूबाट थप धम्कीपूर्ण कमेन्टहरू आउने गरेको बताए । 

उनका अनुसार मेयर साम्पाङले चुनाव जिते लगत्तै देखी पत्रकारहरूलाई गालीगलौज गर्न थालेका हुन् । जीतको उन्मादमा उनले त्यसो गरेका हुन सक्छन् भनेर महासङ्घले गम्भीर रूपमा नलिएको बताउँदै तर अहिले त्यसको त्रासले प्रेस स्वतन्त्रताका साथै नागरिकको अभिव्यक्ति स्वतन्त्रता हरण हुने स्थिति र असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

अध्यक्ष राईले पत्रकार महासङ्घका पूर्व अध्यक्ष केशव घिमिरेलाई उनले अभिव्यक्त गरेको विचारको स्पष्टीकरण दिन फेसबुकमा स्ट्याटस लेखेर, फोन गरेर नगरपालिकामा हाजिर हुन आदेश गर्दै आएको, पत्रकारहरूले प्रश्न गर्दा तपाई कुन पार्टीको पत्रकार हो ? भनी अपमानित गर्ने गरेकाले पत्रकारहरूको सुरक्षा खतरा बढेको उल्लेख गरे ।   

पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे, सचिव विवेक गौतम, केन्द्रीय सदस्य अमर खड्का, भीषण राई, इकबाल अहमद, महासङ्घ मोरङ जिल्ला अध्यक्ष सञ्जीव खनाल सहित अग्रज वरिष्ठ पत्रकारहरू सहित ४० भन्दा बढी पत्रकारहरू ज्ञापनपत्र बुझाउन सुनसरी जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ पाण्डेले संविधानले दिएको प्रेस स्वतन्त्रता तथा नागरिकहरूको भय, त्रास रहित अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी प्रशासनले निर्वाह गर्दै आएको बताउँदै सङ्घीय गृहमन्त्रीलाई लेखिएको ज्ञापनपत्र यथाशीघ्र सम्प्रेषण गरिने विश्वास दिलाइन् ।

सङ्घीय गृहमन्त्री समक्ष प्रेषित ज्ञापनपत्रमा भनिएको छ ‘पत्रकारलाई निसाना बनाएर मेयर साम्पाङले  दिएको अभिव्यक्ति संवेदनशील भएको ठहर गरेका छौँ । स्थानीय सरकारको प्रमुखको दायित्व भनेको जनताको जिउधनको सुरक्षा गर्ने हो । नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको व्यक्तिबाट पत्रकारले असुरक्षित महसुस गरेपछि पत्रकारको सुरक्षा माग जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत नेपाल सरकार गृह मन्त्रालयसमक्ष यसै पत्रमार्फत अपिल गर्दछौँ ।’

mahasang-gyapanज्ञापन पत्रको पूर्ण पाठ यस्तो छ : "धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले पत्रकार र सञ्चार माध्यमलाई अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषाको प्रयोग गरी प्रेस स्वतन्त्रता विरोधी गतिविधि देखाइरहनुभएको छ । उहाँले शृङ्खलाबद्ध रूपमा पत्रकारलाई गरेका दुर्व्यवहार र उहाँका धम्कीपूर्ण अभिव्यक्तिले पत्रकारहरू असुरक्षित भएको ठहर गर्दै नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले यही मिति २०८० वैशाख २३ गते उहाँलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । 

ध्यानाकर्षण पत्रमा पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता तीन दिनभित्र सार्वजनिक गर्न माग गरिएको थियो । साथै, पत्रकार र सञ्चार माध्यमलक्षित आफ्ना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र प्रेसप्रति सम्मान गर्न व्यक्त गर्न आग्रह गरिएको थियो । तर, महासङ्घले दिएको तीन दिनको समय सीमा मिति २०८० वैशाख २७ नै समाप्त भई सकेको छ । आफूले पत्रकारहरूलाई लक्षित गरेर सार्वजनिक रूपमा दिएका आपत्तिजनक र अशिष्ट भाषा पनि उहाँले फिर्ता लिनुभएको छैन । उहाँले प्रयोग गर्ने उहाँको आधिकारिक फेसबुक पेज (Harka Sampang A Revolution) बाट भने सम्बोधन नभएको महासङ्घ लक्षित एउटा सामग्री बाहिरिएको छ । त्यसमा पनि उहाँले  पत्रकारहरूलाई शिक्षा दिन खोजेर धम्क्याउनु भएको छ ।

मेयर साम्पाङले सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राखेकै कारण महासङ्घका पूर्व सुनसरी अध्यक्ष केशव घिमिरेलाई उपमहानगरपालिकामा उपस्थित हुन सामाजिक सञ्जाल मार्फत आदेश दिने गर्नुभएको छ । फेसबुक मार्फत सार्वजनिक सामग्रीमा पनि उहाँले ‘घिमिरेलाई महासङ्घ मार्फत नै उपमहानगरपालिकामा झिकाई लगाएको आरोप पुष्टि गराउन’ भन्नुभएको छ । कार्यक्रमको सन्दर्भमा व्यक्त धारणलाई लिएर मेयर साम्पाङले पत्रकार घिमिरेलाई निसाना बनाएर चुनौती दिनु अनि उहाँका समर्थकहरू पत्रकारविरुद्ध अराजक भएर प्रस्तुत हुँदा सुनसरीको धरानमा स्थिति असहज बन्दै गएको छ । 

श्रृखलाबद्ध रूपमा मेयर साम्पाङ्द्वारा प्रेस स्वतन्त्रता विरोधी गतिविधि बढिरहेको छ । अर्कातिर धरान उपमहानगरपालिकाका गतिविधिबारे समाचार सङ्कलन गर्न जाने सहज वातावरण पत्रकारका निम्ति छैन । अतः उहाँकै कारणले गर्दा पत्रकारहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

पत्रकारलाई निसाना बनाएर मेयर साम्पाङले  दिएको अभिव्यक्ति संवेदनशील भएको ठहर गरेका छौँ । स्थानीय सरकारको प्रमुखको दायित्व भनेको जनताको जिउधनको सुरक्षा गर्ने हो । नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको व्यक्तिबाट पत्रकारले असुरक्षित महसुस गरेपछि पत्रकारको सुरक्षा माग  जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत नेपाल सरकार गृह मन्त्रालयसमक्ष यसै पत्रमार्फत अपिल गर्दछौँ । 

प्रेस स्वतन्त्रता बिना लोकतान्त्रिक शासन व्यवस्थाको कल्पना गर्न सकिदैन् । प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो । नेपालको संविधानले प्रत्याभूत गरेको र अन्तर्राष्ट्रिय मूल्य–मान्यता अनुसार प्रेस स्वतन्त्रता अक्षुण रहने व्यवस्था सुनिश्चित गर्दै निर्बाध रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण सृजना गर्न पनि नेपाल सरकारसमक्ष माग गर्दछौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भीकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न हामी सबै पत्रकार दृढ छौँ ।"

ज्ञापनपत्रमा अध्यक्ष जनकऋषि राई र सचिव ध्रुव ढकालले हस्ताक्षर गरेका छन् ।