धरान : नक्कली भुटानी शरणार्थी काण्डमा बहालवाला सचिव र तत्कालीन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भएपनि विगतमा भएका ठुलाठुला भ्रष्टाचार काण्डहरू सेलाएको उल्लेख गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको छानबिन कार्यलाई निरन्तरता दिनुपर्ने माग गर्दै आज सुनसरी जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र प्रेषित गरेको छ ।
विज्ञप्तिमा छानबिनमा निर्दोष कोही नपरून् र दोषी कोही नछुटुन् भन्ने कानुनको सम्मान गर्दै यस प्रकरणमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना चलखेल विरुद्ध दृढतापूर्वक सडक र सदनबाट आन्दोलन गर्न पछि नहट्ने प्रतिबद्धता प्रकट गरिएको छ ।
छानबिनलाई कुनै पनि बहानामा लम्ब्याएर अलपत्र पार्ने कोसिसको विरुद्धमा राप्रपा रहेको उल्लेख गर्दै ज्ञापन पत्रमा नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दबाब रहित वातावरणमा काम गर्न दिन माग गरिएको छ ।
राप्रपाको देशव्यापी कार्यक्रमको रूपमा आज ज्ञापन पत्र बुझाउन सुनसरीमा अपराह्न जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेतको नेतृत्वमा एक जुलुस इनरुवा स्थित जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । राप्रपा कार्यकर्ताहरूको उक्त जुलुसले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो ।