धरान : दुई महिना देखी बस्न नसकेको उपमहानगरपालिका कार्यपालिका बैठक सञ्चालन गर्ने वातावरण निर्माण गर्न मेयर हर्क साम्पाङ सहमत भएको उपमेयर आइन्द्रबिक्रम बेघाले बताएका छन् ।

मेयर साम्पाङ र वडाध्यक्षका कमी कमजोरी सच्याएर जाने, जायज माग पुरा गर्ने वचनबद्धता मेयर साम्पाङले दिएको बताएका हुन् । उनले भने ‘आइतबार बैठक बस्ने निश्चित छ तर, लिखित समझदारी नभएको र मौखिक समझदारी भएको हो ।’

उपमहानगरपालिकाका प्रवक्ता वडा १७ का अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज)का अनुसार कार्यपालिका बैठकमै बैठक सुरु हुन अघि मेयर साम्पाङले वडा अध्यक्षहरूको माग सम्बोधन गरेपछि मात्र बैठक सुचारु हुने समझदारी भएको हो ।

उनले भने ‘माग सम्बोधन नभए र मेयर नसच्चिए बैठकमा सहभागी नहुने सम्भावना पनि छ ।’ वडाअध्यक्षहरुले ५ बुँदे मागहरू राख्दै आएका छन् ।

उपमेयर बेघाका अनुसार बैठक बस्ने समझदारी सुनसरी उद्योग वाणिज्य सङ्घको समन्वयनमा सचेत धराने समूहका प्रतिनिधिहरूको पहलमा शुक्रवार भएको छलफलबाट भएको हो । छलफलमा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु बसेका थिए ।

सचेत धराने समूह मेयर हर्क साम्पाङको निकट मानिन्छ । समूहका अध्यक्ष निरोज लिम्बु हुन । छलफलमा समूहका हर्कराज लिम्बु, मनोज बस्नेत, नरेन श्रेष्ठ सहभागी भएको उपमेयर बेघाले बताए ।

बेघाका अनुसार छलफलबाट कमीकमजोरी सच्याएर जाने, जायज माग पुरा गर्ने वचनबद्धता मेयर हर्क साम्पाङले दिएका हुन । छलफलमा वडाध्यक्षहरू नगर प्रमुख साम्पाङ, उपप्रमुख  बेघा, वडा १७ का अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज), वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १८ का अध्यक्ष नरेश कुमार राई (प्रवीण), वडा ६ का अध्यक्ष भूपेन्द्र भट्टराई, वडा १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराई र वडा २ का अध्यक्ष रमेश राई सहभागी थिए ।

दुई महिना अघि चैत १ गते बसेको बैठकमा नगर प्रमुखका स्वकीय सचिव सुदर्शन लिम्बूले उपमहानगरको लेटर प्याड प्रयोग गरेर वडाध्यक्षहरूलाई पत्र काटेर निर्देशन दिएको विषयमा विवाद भएको थियो । मेयर साम्पाङले बैठक स्थगित गरेका थिए ।

कार्यपालिका बैठकमा धारणा राख्ने क्रममा धरान १० का वडाध्यक्षलाई नगर प्रमुख साम्पाङले स्पष्टीकरण मागेपछि वडाध्यक्षहरूले आन्दोलनको घोषणा गरी ५ बुँदे माग पुरा नभए सम्म बैठकमा उपस्थित नहुने अडान लिदैं आएका छन् ।

लामो समय देखी कार्यपालिका बैठक बस्न नसकेपछि आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रभावित हुने भन्दै सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले समन्वयनको भूमिका खेल्दै आएका थिए ।